एकल पुरुषहरुलाई मासिक एक हजार भत्ता

एकल पुरुषहरुलाई मासिक एक हजार भत्ता



खोटाङ । खोटाङको रावा बेसी गाउँपालिकाले श्रीमतीको मृत्यु भएका ४५ वर्ष माथिका एकल पुरुषहरुलाई पालिकाले मासिक एक हजार विधुर भत्ता दिन थालेको छ ।

स्थानीय तहको दोस्रो निर्वाचन पश्चात पहिलो कार्यापालिकाको बैठकलले विधुर भत्ता दिने निर्णय पारित गरेको थियो । सोही अनुसार २०७९ साउन १ गतेदेखि लागु हुने गरी गाउँपालिकाले कार्यविधि निर्माण गरेर भत्ता प्रदान गरेको छ ।

साउन १ गते देखिको एकमुस्टमा जेठ २२ गते (सोमबार) विधुर भत्ता प्रदान गरिएको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख गिरिराज रानाले जानकारी दिए ।

६ वडा रहेको पालिकामा पहिलो चरणमा २४ जनाले विधुर भत्ता पाएका छन् । उनीहरुलाई सोमबार गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ, वडाध्यक्षहरुले संयुक्त रुपमा भत्ताको चेक हस्तान्तरण गरे ।