बजेट कार्यान्वयनमा सांसदको जोड

बजेट कार्यान्वयनमा सांसदको जोड



काठमाडौं । सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट असाध्यै महत्वाकांक्षी भएकाले कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिने सांसदहरुले बजेट कार्यान्वयनका आधारबारे प्रश्न गरे ।

आजको बैठकमा बोल्ने अधिकांश सांसदले बजेटमा असार मसान्तदेखि नै प्रभावकारी अनुगमन गर्दै बजेट कार्यान्वयन गर्ने उल्लेख भए पनि कुन विधिद्वारा कार्यान्वयनमा गर्ने भन्नेमा सरकारले प्रष्ट पार्नुपर्ने बताए ।

सांसद जयन्ती राईले बजेटमा नयाँ विषय समावेश गरिएको, प्रगतिशील कार्यक्रम र विकासका योजना समेटिएको उल्लेख गर्दै जस्ताकोतस्तै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद कृष्णप्रसाद पौडेलले सुझबुझका साथ आम नेपालीको इच्छा, आकाङ्क्षा, आशा र भरोसा जित्ने बजेट आएको उल्लेख गर्दै बजेटलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरेर जानुपर्ने बताए । “बजेटको कार्यान्वयन सही ढङ्गले होस्, आम नागरिकले यसको प्रतिफल प्राप्त गर्न सकून्”, उनले भने ।

सांसद जीतेन्द्रनारायण देवले नेपालको आर्थिक परिस्थितिको सन्दर्भमा बजेट सन्तुलित, व्यवहारिक र राष्ट्रहितमा केन्द्रित रहेको बताए । सांसद देवेन्द्र दाहालले बजेटमा सांसदले उठाएका विषय सम्बोधन गर्ने अवस्था नरहे बजेटमाथि छलफल गर्नुको अर्थ नभएको बताए ।

सांसद हरिराम चौधरीले अवैधानिक बाटोबाट वैदेशिक रोजगारीमा पुगेर अलपत्र परेका, मृत्यु भएका श्रमिकको उद्धारमा बजेटले ध्यान दिन नसकेको बताए ।

यसैबीच राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सम्पन्न भएको छ ।

बजेटमाथिको सामान्य छलफल सम्पन्न भएपछि राष्ट्रियसभाको आजैको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । राष्ट्रियसभामा यही जेठ २४, २५ र २६ गते बजेटमाथि सामान्य छलफल भएको थियो ।

यही जेठ २४ गतेको बैठकमा अर्थमन्त्री डा महतले ‘आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव गरेका थिए ।

सरकारले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक आजै १६ मिनेटपछि बस्नेछ ।