काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज (बिहीबार) हुने भएको छ । संसदीय सुनुवाइ समितिको पछिल्लो बैठकको नेतृत्व गरेका ज्ञानेन्द्रबहादुर कार्कीले आज बिहान ८ बजे प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीलाई आफ्ना कार्य योजना प्रस्तुत गर्नका लागि बोलाउने निर्णय गरिएको जानकारी दिए ।
समितिले बुधबार कार्कीविरुद्ध उजुरी दिएका ७ जनासँग एक्ला एक्लै र बाँकीसँग सामूहिक छलफल गरिएको थियो।
सुरुमा सामूहिक छलफलको माग गरेका उजुरीकर्ताले पछि समितिको वैधतामै प्रश्न उठाएका थिए। समितिमा बोलाइएका २३ उजुरीकर्तामध्येका वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई, अधिवक्ता अमृत खरेल, रतन भण्डारीलगायतले आफ्नो माग सुनुवाइ नभएको भन्दै छलफल बहिस्कार गरेका थिए।
२३ उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो। सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरेको भन्दै उनीहरूले विरोध जनाएका हुन्। उनीहरूले आफूहरूलाई सामूहिक रूपमा बोल्न दिनुपर्ने भन्दै आपत्ति जनाएका थिए।
संवैधानिक परिषद्बाट वैशाख २५ गते सिफारिस भएका कार्कीमाथि सुनवाइ समितिले जेठ १६ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । समितिको जेठ १६ गते आह्वान गरेअनुसार प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी परेका थिए।


प्रतिक्रिया