कोशी प्रदेशमा अध्यादेशमार्फत बजेट जारी

कोशी प्रदेशमा अध्यादेशमार्फत बजेट जारी



मोरङ । अल्पमतमा परेको कोशी प्रदेश सरकारले बिहीबार अध्यादेशमार्फत बजेट जारी गरेको छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश-२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश-२०८० जारी गरेका छन् ।

मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले कानुनी उल्झन आउने जोखिम देखेपछि आजै आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएको हो ।

अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्‌को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको चालू वर्षे अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिसकेका छन् ।

प्रदेशसभामा आउँदो वर्षको बजेटको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रस्तुत गरेका थिए । उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले प्रदेशसभाको चालू बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।