युद्धविराम मध्यस्थताका लागि अफ्रिकी नेता युक्रेनमा

युद्धविराम मध्यस्थताका लागि अफ्रिकी नेता युक्रेनमा



काठमाडौं । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रवार युक्रेन पुगेका छन् ।

रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्न सेन्ट पिटर्सबर्ग जानुअघि चार राष्ट्रपति र तीन प्रतिनिधिले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग किभमा वार्ता गर्ने कार्यक्रम छ ।

गएको वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि खाद्यान्नको बढ्दो मूल्य र विश्वव्यापी व्यापारमा परेको व्यापक प्रभावका कारण नराम्ररी प्रभावित भएको महाद्वीपको आवाजलाई उच्चस्तरीय कुटनीतिक टोलीले टेबलमा ल्याउने बताइएको छ । ‘राष्ट्रपति सिरिल रामाफोसा नेमिचेभ रेल स्टेशनमा आइपुग्नुभएको छ’, दक्षिण अफ्रिकी राष्ट्रपति कार्यालयले ट्वीट गरेको छ ।

रामाफोसासँगै सेनेगलका म्याकी सल र जाम्बियाका हाकाइन्दे हिचिलेमा र कोमोरोसका अध्यक्ष अजाली असौमानी पनि सहभागी हुनेछन् । युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनी, इजिप्टका अब्देल फत्ताह अल–सिसी र कङ्गो–ब्राजाभिलका राष्ट्रपति डेनिस सासु नगुएसोले भ्रमण दलमा आफ्ना प्रतिनिधि पठाएका छन् । एजेन्सी