कोशी प्रदेशमा उद्धव थापाले छलछामयुक्त दाबी प्रस्तुत गर्ने

कोशी प्रदेशमा उद्धव थापाले छलछामयुक्त दाबी प्रस्तुत गर्ने



काठमाडौं । कोशी प्रदेशमा गठबन्धनको तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापाले छलछामयुक्त दाबी प्रदेश प्रमुखसँग पेस गर्ने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार विहीबार साँझ ५ बजेभित्र सरकार गठनको दाबी पेस गर्न समयसीमा तोकेका छन् ।

गठबन्धनका उम्मेदवार थापाले बहुमत सांसदको नाम र हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने छैनन् । उनले संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरियोस् भन्ने कांग्रेस संसदीय दलको निर्णय प्रदेश प्रमुखको कार्यालयमा बुझाउने छन् । यसैगरी कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नेकपा माओवादी केन्द्रले समर्थन गर्ने संसदीय दलको निर्णय भएको निवेदन प्रदेश प्रमुख कार्यालयमा बुझाउने छ । यही प्रकृतिको संसदीय दलको निर्णय एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले पनि प्रदेश प्रमुखको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

प्रदेश प्रमुख खापुङले संसदीय दलको निवेदनअनुसार कतिजना निर्वाचित भएका छन् भन्ने हेर्ने छन् । दलबाट प्रतिनिधित्व गर्ने सांसदहरु को कहाँ र कुन पदमा छन् भन्ने कुरा हेरिने छैन । प्रदेश प्रमुखले कांग्रेसबाट २९, माओवादी केन्द्रबाट १३, एकीकृत समाजवादीबाट ४ र जनता समाजवादीको १ जना गणना गर्ने छन् । यसरी गणना गर्दा बहुमत संख्या पुगेको मानिने छ । यसैलाई आधार मानेर प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्रीको सपथ खुवाउने छन् ।

सपथ लिएको एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । मुख्यमन्त्रीको सपथ लिएपछि थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि विश्वासको मत माग्ने तयारी गरेको बुझिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता भक्ति सिटौलाले अहिलेसम्म थापालाई मुख्यमन्त्री स्वीकार गर्न सकेका छैनन् ।

राजनीतिमा अगाडि बढ्न थापा र कृष्ण सिटौला बाधक बनेपछि नेविसंघ पृष्ठभूमि भएका भक्ति सिटौलाले कांग्रेस त्यागेका थिए । यही राजनीतिक द्वन्द्वले गर्दा सिटौलाले थापालाई मुख्यमन्त्री स्विकार्न चाहेका छैनन् ।

प्रदेश प्रमुख खापुङ नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ कार्तिक २३ गते कोशी प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । वामपन्थी पृष्ठभूमि हुँदै पञ्च नेता भएका खापुङले नाम र हस्ताक्षर बिना नै संसदीय दलको निर्णयलाई आधार मानेर थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्छन् वा गर्दैनन् त्यो हेर्न भोलि बिहीबार साँझसम्म पर्खिनुपर्ने हुन्छ ।