पुल

पुल



यी पुल भएर दिनहुँ हिड्छन्
मुला, फर्सी र आलुका सपनाहरु
बजारसम्म पुग्छन्
र दिनभरि दलाली मोलभावको ठक्कर खाएर
साँझमा निराश फर्कन्छन्
जसोतसो बल्छ बस्तीको बुढो चुल्होमा
पिलपिले भोकको आगो

अहिले कुच्चोका तन्नेरी पसिनाहरु
पुल तर्ने रहरमा छन्
केही तरुनी डुकुहरु
पुल तर्नलाई सिङ्गारिएका छन्

अलैंचीका महङ्गो सुस्केरा
केराको नक्कले आयु
घर मौरीको गुलियो स्वाद
मगमगाउँदो धानको स–साना पाइलाहरु
जम्मै जम्मै अहिले पुल तर्ने झोंकमा छन्
मलाई थाहा छ पुल तरेकै दिन
यिनीहरुले पनि गुमाउने छन्
आफ्नापनका गाउँले नाताहरु
र बन्नेछन् यिनीहरु
कञ्जुस रुपियाँको फितलो विश्वास
एउटा रहर न हो शहर आउनु
जो आइसकेर फिक्का लाग्छ
एउटा सपना न हो शहर पस्नु
जो पसिसकेर दिक्क लाग्छ
तर पनि यो पुल भएर
दिनहुँ एउटा गाउँ शहर छिर्छ
शहरको नाङ्गोपनलाई
जैविक खास्टो ओढाएर
उ आफू लाचार फर्किन्छ

प्रिय पाठक,
पुल पारी मुस्कान, फूल र प्रेम छ
पुल वारी नाफा, व्यापार र धोका
पुल पारी बादल झरना खेतहरु छन्
पुल वारी नाफाखोरी मानसिकताका
अग्ला अग्ला हिमालहरु
सत्य होला महाशय,
पुल पारी मासूम एउटा गाउँ छ
पुल वारी भयङ्कर बदमास शहर छ ।

कालेबुङ