बैङ्कहरूले छिट्टै ब्याजदर घटाउँछन् : अर्थमन्त्री महत

बैङ्कहरूले छिट्टै ब्याजदर घटाउँछन् : अर्थमन्त्री महत


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरूले छिट्टै ब्याजदर घटाउने बताएका छन्।​ बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आईरहँदा अर्थमन्त्री महतले सो आश्वासन दिएका हुन्।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घ, काठमाडौँले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वाससमेत व्यक्त गरे।

अर्थमन्त्री महतले कोभिड लगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरूलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने बताए। उनले भने, ‘यो अहिलेको जुन ब्याजदर छ। त्यो ज्याँदा छ। त्यस कारण त्यस कारण यो पोलिसी रेट घटाउने र यो पुनर्तालिकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु। सायद केही न केही सम्बोधन होला। त्यसले गर्दाखेरि यो ब्याजदर घटेर त्यसबाट पनि जो ऋण लिएर ठूलो लगानी यो क्षेत्रमा भएको छ। केही न केही राहत पुग्नेछ भन्ने मलाई लागेको छ।’

अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक वस्तुहरूको खपतमा जोड दिनु पनि आम उपभोक्तालाई आग्रह गरे।

उनले कृषि वस्तुको खपत र रोजगारी सृजनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीहरुको पनि प्रशंसा गरे।

अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको पनि दोहोर्‍याए। उनले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराए।

अर्थमन्त्री महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने चाहेको र सोही अनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको दाबीसमेत गरे ।