काठमाडौं । एसइइको नतिजा सार्वजनिक भएसँगै विभिन्न विद्यालय तथा क्याम्पसहरुमा भर्ना हुने विद्यार्थीहरुको चहलपहल बढ्न थालेको छ ।
एसइइ उतिर्ण विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि आ-आफ्नो रुचीको विषय छनौट गर्दैछन् । कुन विषय लिने र कहाँ पढ्ने ? कौतुहलताका बीच उनीहरु अहिले विभिन्न शैक्षिक संस्थाहरुमा पुग्न थालेका भेटिन्छन् ।
प्लस टु भर्ना हुन लागेका अधिकांशले व्यवस्थापन संकाय पढ्न लागेको बताए । विज्ञान र शिक्षा लगायतका अन्य संकाय पनि विद्यार्थीको रोजाईमा परेको पाइयो । कक्षा ११ मा भर्ना हुन लागेका अधिकांश विद्यार्थीको एउटै चाहाना प्लसटु पछि विदेशिने देखिएको नेपाल टेलिभिजनको रिर्पोटिङमा उल्लेख छ ।
एसइइपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न क्याम्पस र विद्यालयमा भर्ना हुने र बुझ्न चाहाने विद्यार्थी र अभिभावकको भीड लाग्न थालेको छ । यता विभिन्न विद्यालय र क्याम्पसहरुले भर्नाका लागि इन्ट्रान्स लिने तयारी गरेका छन् । पढाई र भर्नाका लागि क्याम्पसमै काउन्सिलिङको समेत व्यवस्था गरिएको छ ।
यता, काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ ।
महानगर अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९/०८० मा कक्षाा ११ मा भर्ना भएका विद्यार्थीहरूको संख्या असार मसान्तभित्र पठाउन शुक्रबार महानगरले निर्देशन दिएको हो ।
प्रतिक्रिया