जनकपुर । जनकपुर–जयनगर रेल आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेपछि रेल भंगहासम्म रेल चल्नेछ । रेललाई बेहुली झै सिंगारिएको छ । रेल चल्ने भएपछि स्थानीय हर्षित भएका छन् ।
कुर्थादेखि भंगहासम्म थप १७ किलोमिटर रेल सेवा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको यो रेल सेवा हाल जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा सञ्चालन हुँदै आएको थियो ।
पहिलो चरणमा ३५ किलोमिटरमा सञ्चालन भएको नेपालको एक मात्र रेल सेवालाई थप विस्तार गर्न लागिएको हो । योसँगै अब भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटर सञ्चालन हुनेछ ।
कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण सम्पन्न गरी भारतको इरकन कम्पनी लिमिटेडले गत जेठ १८ गते नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।
भारतको सरकारी कम्पनी कोकान रेलवेज कर्पोरेसन लिमिटेडसँग खरिद गरिएको दुईसेट रेल पहिलो चरणमा जनकपुर–जयनगर २० चैत २०७८ देखि नियमित सञ्चालनमा आएको थियो । १९ चैत २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देउवाले हैदराबाद हाउसबाट भर्चुअलरुपमा संयुक्त उद्घाटन गरेका थिए ।
प्रतिक्रिया