इमर्जिङ टिम्स एसिया कप : नेपाल तीन विकेटले विजयी

इमर्जिङ टिम्स एसिया कप : नेपाल तीन विकेटले विजयी



काठमाडौं । कुशल भुर्तेलको अलराउन्डर प्रदर्शनप्रेरित नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले हराउँदै एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा सुखद अन्त्य गरेको छ ।

बुधबार पी सारा ओभलमा सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा भुर्तेल चम्किएपछि यूएईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर भुर्तेलले ४३ बलमा ७१ रनको सानदार अर्धशतक बनाए । भुर्तेलले ९ चौका र ४ छक्का प्रहार गरेका थिए । सन्दीप जोरा र देव खनालले समान २४/२४ रन बनाए ।

युएईका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भएको थियो ।

युएईका लागि लभप्रित सिंहले ८२ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । सिंहले ६ चौका र १ छक्का प्रहार गरेका थिए । इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चिएर ६ विकेट लिए । राष्ट्रिय टिमबाट भुर्तेलले एकै ईनिङमा लिएको यो सर्वाधिक विकेट हो । श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १/१ विकेट लिए ।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका थिए । नेपालले सान्त्वना जित हात पारेको छ । युएई जितबिहिन रुपमा प्रतियोगिता सकाएको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।

युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो । युएईले दोस्रो रोजाईका खेलाडी इमर्जिङ टिम्स कपमा पठाएको छ ।

यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।

सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।