करिब एकवर्षको प्रतिक्षा गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । बैठकभन्दा अघि नै केही विचार र धारणाहरु आएका थिए । केही आशा, अपेक्षा र अनुरोध पनि थियो । न धेरै उत्साहित हुनुपर्ने अवस्था थियो न त धेरै निराश नै । यस्तै यस्तै गरी चल्छ भनी अनुमान थियो नै । चमत्कार र रुपान्तरणको गफ गर्नेहरुलाई कठघरामा उभिनु पर्दा अली असजिलो भएको होला । धेरै नचिनेका अनुहार र पात्र होइनन् । विगत ३५–४० वर्षदेखि देखिएका, सँगै काम गरेका, आचरण, व्यवहार तथा कार्यशैली मात्र होइन चरित्र र अनुशासन पनि थाहा जानकारी भएकै व्यक्तिहरु सभापतिदेखि सदस्यसम्म हुँदा सामान्य छनक पाइन्छ नै । थाहा नपाउनेका निम्ति कौतुहल र अपेक्षा स्वभाविक नै हो । यो वा त्यो पक्षमा उभिएर स्वार्थ पूरा गर्नु गराउनु, पक्का सेवक ठहरिनु, इमान्दार ‘दास’ भएको प्रमाणित गर्नु गराउनु अहिलेका राजनीतिक कार्यकर्ताहरुको व्यवसाय (पेशा) नै बनेको छ । प्रत्यक्ष प्रशारण भएको बैठकमा प्रस्तुत धारणा र विचारहरुले त्यहाँभन्दा मार्थि उक्लने संकेत नगर्नु कम्तीमा मेरा लागि अनौठो भएन ।
हामीजस्ता मानिसहरु धेरै कारणले नेपाली कांग्रेसमा आबद्ध हुन पुगेका हौं । यसमा विचार, परिवारिक संलग्नता, संगत, परिवेश, आकर्षण, परिवर्तन प्रतिको मोह र त्यसमा नेपाली कांग्रेसको अविचलित नेतृत्वदायी भूमिकाको महत्वपूर्ण स्थान छ । यसमा न ग्लानी छ न त असन्तुष्टि नै । छ त केवल कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका जस्तै वर्तमानमा पनि नेपालको लोकतान्त्रिक शासन व्यवस्थाको नेतृत्व गरोस् । आम मानिसले विश्वास र भरोसा गर्न लायक बनोस् । विचार, सिद्धान्त र आस्थाप्रति प्रतिबद्ध र इमान्दार नेता कार्यकर्ता बनाओस् । देशको सार्वभौमिकता, अखण्डता र संविधानको निम्ति राष्ट्रिय अवधारणा र दृष्टिकोण बनाओस् ताकि सबै तह क्षेत्र र वर्गका मानिस जसरी हिजो गोलबद्ध भएर परिवर्तन सम्भव भयो, त्यसैगरी आजको देशको आवश्यकता र जनताको चाहना–भावनाको संवोधन हुन सकोस् । त्यसैका लागि निरन्तर खरबदारी गर्दै आफ्नो ठाउँ, स्थान भूमिका र धेरथोर सीप र क्षमतामार्फत् विचार प्रवाह गरिएको हो ।
चौधौं महाधिवेशनबाट पुनः निर्वाचित भएका सभापति शेरबहादुर देउवासँग त्यत्रो ठूलो अपेक्षा राखिएको होइन । धेरै कारणहरुले गर्दा कोइराला परिवारका सदस्य शेखर कोइरालाले पराजय भोग्नु परेको हो । आन्तरिक प्रतिस्पर्धामा पनि प्रतिस्पर्धी कस्तो छ भन्ने कारणले पनि परिणाम फरक आउँछ । कांग्रेस पार्टीमा तलदेखि माथिसम्म कस्ता कार्यकर्ता तयार भएका छन् ? यी ‘नेता’ भनाउँदाहरुले कस्ता कस्ता मानिसलाई प्रयोग गरेका छन् ? के कस्ता कुराहरुको प्रभाव पर्छ ? भन्ने आम मानिसले बुझेका छन् । राम्रा मानिस त क्रमशः पाखा लाग्दै गएका छन्, पलायन भएका छन् । आफ्ना छोराछोरीहरुलाई अध्ययनको नाउमा विदेश पठाएर क्रमशः त्यस्तै विस्थापित जीवन बिताउन थालेका पनि देखिन्छन् । राष्ट्र सेवकदेखि राजनीतिकर्मीसम्म आफ्ना छोरा छोरी विदेशमा श्रमिकको रुपमा कार्यरत रहेकोमा गौरव गर्छन् । विकसित देशले हाम्रो जस्तो देशका कलिला (फ्रेस) केटाकेटीहरुलाई न्यून पारिश्रमिक दिएर काममा लगाएका छन् ।
महामन्त्री गगन थापा र विश्वपकाश शर्माको प्रयास के रह्यो भन्ने प्रश्न स्वभाविक छ । उहाँहरुले सार्वजनिक रुपमा गरेको प्रतिबद्धता के कस्तो अवस्थामा छ भन्ने सोध्यो र जानकारी पाउने हक आम मानिससँग सुरक्षित छ । त्यसको प्रयोग ठाउँ ठाउँमा हुन्छ नै ।
देशको अवस्था हेरेर उनीहरु जे भए पनि विदेशमा नै गएर दुःख व्यहोर्न बाध्य बनाएका छन् । यस अवस्थामा यहाँ उपलब्धहरु कै बीचबाट नेतृत्व छनोट हुने हो । छनोट हुँदा डन, व्यापारी, ठेकेदार, हप्ता असुल्ने, कुनै न कुनै फौजदारी कसुर गरेका, दलाल, तस्कर, माफिया, विद्यालय शिक्षा पुरा नगरेको ययस्तै उस्तै अरु कुनै वैकल्पिक क्षेत्र नभएको व्यक्तिहरुकै बाहुल्यता हुने भएकोले त अली हुने व्यक्ति त तल्लो तहबाटै आउन नसक्ने परिवेश बनेको छ । यस कार्यमा देउवा, थापा, कोइराला, सिटौला आदि इत्यादि सबै लागेका छन् । आफ्नो पक्षमा हुन्छ भने सबै ठीक नभए भाडमा नै जाओस् भन्ने मानसिकतामा काम भएको छ । यसरी आएको नेतृत्व र त्यो नेतृत्वको समर्थन वा विरोधमा सुनिएको आवाजले सुधार, परिवर्तन वा रुपान्तरणको कुनै गुन्जायस नै छैन । प्रयास के भयो, के के गर्नु भयो ? महामन्त्री गगन थापा र विश्वपकाश शर्माको प्रयास के रह्यो भन्ने प्रश्न स्वभाविक छ । उहाँहरुले सार्वजनिक रुपमा गरेको प्रतिबद्धता के कस्तो अवस्थामा छ भन्ने सोध्यो र जानकारी पाउने हक आम मानिससँग सुरक्षित छ । त्यसको प्रयोग ठाउँ ठाउँमा हुन्छ नै ।
केन्द्रीय समितिदेखि सामाजिक सञ्जालसम्म उठेका प्रश्नहरुको जवाफ विश्व–गगनहरुले दिइनै रहनु पर्दछ । सरसर्ती हेर्दा नेपाली राजनीति यसरी बिग्रिएको छ कि त्यो सहजै सुध्रने सम्भावना छैन । तलदेखि माथिसम्म, माथिदेखि तलसम्म चौपट भएको छ । चाहे कांगे्रसको नाउमा होस्, चाहे एमाले, माओवादी वा अन्यको ठाउँमा होस् । ठगठाग र लुटपाट एक मात्र मन्त्र बनेको छ । एक एक थान नेताको दौराको फेर समातेकाहरु खुलेआम डकैती गरिरहेका छन् । त्यसमा नेतृत्वको संरक्षण छ । हाक्काहाक्की भन्छन् देउवा–दाहाल–ओलीलगायतका नेता लुट्न हुने हामीले नहुने ? यो लुटाहाहरुका गठबन्धन हो ।
कांग्रेससँग बने पनि एमालेसँग बने पनि यस्तै, सिकाएका हुन् गगनहरुले भन्ने युवा प्रस्त भेटिन्छन, देशभरि । आखिर बनेले नचिनेको बाघ र बाघले नदेखेको वन होइन । धेरैलाई देउवा, गगन, विश्वलगायतकाहरुको नालिबेली थाहा नै छ । हामी देख्ने, भोग्ने पनि छँदैछौं । अरुलाई गफ दिए पनि हामी जो परिस्थितिमा छौं त्यो असन्दर्भिक मात्र होइन सफेद झुठ नै हुन्छ । कुरा यति हो कि परीक्षणकाल चलिरहेको छ । हामी जस्ताको स्वार्थ भनौ या चाहना कति मात्र हो कि देश थप बरवाद नहोस् । परिवर्तनको संवाहक कांग्रेसले आफूलाई सच्चयाओस् ।
प्रतिक्रिया