काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासबारे आज पनि काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ। छलफलमा सहभागी हुन गठबन्धनमा आवद्ध कोशी प्रदेश संसदीय दलका नेताहरु पनि काठमाडौं आइपुगेका छन्। छलफलका लागि शीर्ष नेताले आफूहरुलाई बोलाएको र बैठक अहिले केहीबेरमा सुरु हुने माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए।
कोशीमा बहुमत पुर्याउन सत्ता गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई फकाउनेदेखि सभामुख बाबुराम गौतमलाई राजीनामा गराउनेसम्मका विकल्पमा छलफल गरिरहेका छन्।
यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए। तर राप्रपाले गठबन्धनमा सहभागि हुने–नहुनेबारे निर्णय दिएको छैन।
तत्कालीन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए। तर सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गरिदिएपछि संविधानको धारा १६८ (२) बमोजिम सात दिनभित्र नयाँ सरकार गठनको आव्हान गर्न प्रदेश प्रमुखलाई परमादेश दिएको थियो।
त्यसपछि प्रदेश प्रमुखले बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी गर्न मंगलबारसम्मको समय दिएपछि दलहरु निरन्तर छलफलमा छन्।
प्रतिक्रिया