काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय शिक्षा विधेयक आगामी मङ्गलबाार सदनमा पेस गरिने जानकारी दिए । समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को बैठकले सो विधेयक पारित गरेर सदनमा पेस गर्ने र शिक्षा क्षेत्रमा सुधारका लागि नयाँ मार्ग तय गरिने उनले उल्लेख गरे । सो विधेयकले शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याको समाधान गर्ने प्रधानमन्त्री दाहालको विश्वास छ ।
यस्तै, त्रिभुवन विश्वविद्यालय शिक्षा आयोगका अध्यक्षलगायत अन्य विश्वविद्यालयमा खाली रहेका पदाधिकारीको पनि छिट्टै पदपूर्ति गरिने प्रधानमन्त्री दाहालले बताए ।
प्रधानमन्त्री दाहालले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको बताए । तत्कालीन नेकपा नेतृत्वको सरकारको समयमा तयार भएको सो प्रतिवेदन सार्वजनिक भएको छैन । तत्कालीन पार्टीको बहुमत सदस्य सार्वजनिक गरी कार्यान्वयन गर्न तयार भए पनि तत्कालीन प्रधानमन्त्री तयार नभएको उनले बताए ।
प्रधानमन्त्री दाहालले सो प्रतिवेदनको खोजी भइरहेको उल्लेख गरे । आफू प्रधानमन्त्री भएपछि लगातार त्यसको खोजी गरिरहेको भए पनि नभेटिएको उनको भनाइ छ । आफूले तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग पनि सो प्रतिवेदनबारे चासो राखेको बताए । उनले (पोखरेल)ले एकप्रति पनि नराखी बुझाएको जानकारी दिएकाे प्रधानमन्त्री दाहालको भनाइ छ ।
शान्तिपूर्ण र सशस्त्र सङ्घर्षबाट ठूलो राजनीतिक परिवर्तन गरेको र शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य अधिकारजस्ता विषयलाई मौलिकरुपमा स्थापित गर्नुपर्छ भनेर संविधानमा लिपिबद्ध गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले संविधान प्रदत्त समाजवादलाई व्यावहारिकरुपमा कार्यान्वयनको सुरुआत गरिने बताए ।
शिक्षा क्षेत्रमा समाजवादको भ्रुण स्थापना गर्ने तयारीका साथ सरकारले केही महत्वपूर्ण काम अगाडि बढाउन लागेकोसमेत उनले जानकारी दिए । समाजवादी मोर्चा बनेपछि पनि अनेकन खालका भ्रम सिर्जना गर्ने र नेताहरुकाबीचमा फाटो पार्ने अनेकन कोशिस भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ती सबै षड्यन्त्रलाई पराजित गरेर अगाडि बढ्न नेतृत्व पङ्क्ति तयार रहेको बताए ।
प्रतिक्रिया