कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाले गरे दाबी पेश

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाले गरे दाबी पेश



विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् ।

उनले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।

माओवादीबाट सभामुख बनेका बाबुराम गौतमलाई पदबाट राजीनामा दिन लगाएर गठबन्धन दलहरुले बहुमत पुर्‍याएका हुन् ।

थापालाई गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीका १ सहित ४७ सांसदले समर्थन जनाएका छन् ।

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक पर्छ । एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

गठबन्धनले पूर्वसहमति अनुसार कांग्रेसका थापाको नेतृत्वमा दाबी गरिएकाे हाे । गत असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखको छुट्टै हस्ताक्षर प्रयोग गरेर सरकारमा दाबी पेश गरेपछि सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो ।