विराटनगर । गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले भोलि विश्वासको मत लिन कोशी प्रदेशसभाको बैठक आव्हान भएको छ । संसदीय अङ्क गणित र गठबन्धन संस्कार सङ्कटमा रहेको प्रदेशसभामा अर्को खेल शुरु भएको छ ।
यसअघि मुख्यमन्त्री बन्नका लागि नेपाली कांग्रेसका थापाले सभामुखको समेत हस्ताक्षर प्रयोग गरेको र अर्को पटक मुख्यमन्त्री बन्न सभामुखलाई नै राजीनामा गराएको कोशी प्रदेशमा विपक्षी गठबन्धनले थापालाई विश्वासको मत पाउनबाट रोक्न ठूलो सङ्ख्यामा सांसद अनुपस्थित गराउने तयारी गरेका छन् । एमालेले उपसभामुख सृजना दनुवारलाई अनुपस्थित गराउने डरका कारण सत्ता गठबन्धनले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई मन्त्री बनायो । तर विपक्षी गठबन्धनले जसरी पनि थापालाई रोक्न मण्डलपछिका आठ जना ज्येष्ठ सदस्यलाई अनुपस्थित गराएर सत्ता गठबन्धन दलकै सांसदलाई सभाको अध्यक्षता गर्ने अवस्था सृजना गर्न लागेको हो ।
भोलि साेमवार दिउँसो १ बजे बस्ने बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सात र राप्रपाका एक जना प्रदेशसभा सदस्यले उपस्थित हुन नसक्ने सूचना आज आइतवार नै उपसभामुखलाई दिएका छन् । उपस्थित हुन नसक्ने सूचना दिनेहरूमा एमालेका रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बु, रामप्रसाद महतो, खड्गबहादुर बस्नेत, तारादेवी ढकाल, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदी तथा राप्रपा प्रदेशसभा सदस्य गोपालबहादुर विश्वकर्मा रहेका छन् ।
भोलि दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनसँग ४७ मत मात्र छ । यदि भोलि सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले बैठकको अध्यक्षता गर्नुपरे थापाले विश्वासको मत पाउन सक्नु हुन्न । प्रदेशसभा नियमावलीअनुसार बैठकको अध्यक्षता गरेका व्यक्तिले कुनै पनि प्रस्तावमा बराबर मत भएको अवस्थामा मात्र मतदान गर्न सक्ने व्यवस्था छ । विपक्षी सांसद अनुपस्थित भएपछि बराबर मत हुने सम्भावना रहँदैन ।
विपक्षी सांसद अनुपस्थित भएपछि ज्येष्ठ सदस्यको १३ औँ नम्बरमा रहेका कांग्रेसका अमृत अर्यालले प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने भएकाे छ ।
प्रतिक्रिया