विराटनगर । कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी नेपाली कांग्रेसका इस्राइल मन्सुरीलाई दिएकी छन् । उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिएकी हुन् । उपसभामुख दनुवारले आफू बिरामी भएको भन्दै प्रदेशसभामा उपस्थित हुन नसक्ने भन्दै जानकारी गराएकी छन् ।
उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गरिएकाे छ ।
कोशी प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो । जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बुले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसकेकी छन् भने वर्णानुक्रमअनुसार रहेका अम्बरबहादुर बिस्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना दिएका छन् । सोही कारण मन्सुरीलाई बैठकको अध्यक्षता गर्नका लागि उपसभामुख दनुवारले पत्र लेखेकी छन् ।
मन्सुरी नेपाली कांग्रेसको तर्फबाट सुनसरी ४(२) बाट निर्वाचित भएका हुन् । उप सभामुख बिदामा बसेको बेला अव प्रदेश सभा मन्सुरीले सञ्चालन गर्नु पर्ने छ ।
यसैबीच प्रदेशसभाको आजको बैठकमा नेकपा (एमाले)का तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, रोहितबहादुर कार्की, रामप्रसाद महतो र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले पनि बिदामा बस्ने प्रदेशसभा सचिवालयमा जानकारी गराएकाे प्रदेश सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्रीको रूपमा थापा साउन १६ गते नियुक्त भएका थिए । उनले ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।
विश्वासको मत लिनका लागि सत्ता गठबन्धन बाहेक राप्रपा र एमालेले सभा सञ्चालन गर्नु पर्ने हुन्छ । सत्ता गठबन्धनसँग कोशी प्रदेश सभामा ४७ मत मात्रै रहेको छ । सभा सञ्चालन गर्ने प्रदेश सभाले बराबर नभएको अवस्थामा विश्वासको मत दिन नपाउने भएका कारण थापालाई विश्वासको मत राप्रपा र एमालेका कारण सङ्कट उत्पन्न भएको छ ।
यसैगरी आज बिहान साढे आठ बजे कार्यव्यवस्था समितिको बैठक बसेको थियाे । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालको सहभागिता थियो ।
प्रतिक्रिया