विराटनगर । कोसी प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री उद्धव थापाले आफूलाई विश्वासको मत दिन प्रदेशसभाका सबै सदस्यलाई आग्रह गरेका छन् । उनले आफूलाई मत दिएर सहमतीय राजनीतिलाई अगाडि बढाउन एमाले र राप्रपालाई पनि आह्वान गरेका छन् ।
‘प्रदेशमा स्थिरता र विकासका लागि मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सहमतीय राजनीतिको अभ्यासलाई अघि बढाउन गठबन्धन दलका सबै सत्ता गठबन्धनका दलका साथै नेकपा एमाले र राप्रपासँग आवद्ध दलका माननीयहरुलाई आग्रह गर्न चाहन्छु ।’
मुख्यमन्त्री थापाले नामकरणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता र संवादमार्फत द्वन्द्व मेटाउँदै जाने बताएका छन् ।
अध्यक्ष मण्डलका सदस्य कांग्रेसका इसराइल मन्सुरीको अध्यक्षतामा बैठक जारी छ । बैठक सुरु भएसँगै मुख्यमन्त्री उद्धव थापाले संविधानको धारा १६८ (२) अनुसारको मुख्यमन्त्रीका लागि १६८(४) बमोजिम विश्वास मत लिने प्रस्ताव सदनसमक्ष राखेका छन् ।
आजै मत विभाजनबाट विश्वासको मत लिने कार्यसूची छ । बैठकमा राप्रपाका ६ सांसद सबै अनुपस्थित छन् । प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा (एमाले)का ४० मध्ये ३० जना सांसद बैठकमा उपस्थित छन् ।
प्रतिक्रिया