बाल्टिमोरमा राजु लामाको भव्य प्रस्तुति

बाल्टिमोरमा राजु लामाको भव्य प्रस्तुति



बाल्टिमोर,अमेरिका। मंगोलियन हार्टका चर्चित गायक राजु लामाले बाल्टिमोरका नेपालीहरु माझ आफ्नो भव्य सांगीतिक प्रस्तुती दिएका छन्। गायक लामाको बाल्टिमोरमा यो पहिलो प्रस्तुती थियो। नायिका पूजा चन्द र दि एञ्जेल्स ब्यान्डका राजु लामाले ‘राजु लामा लाइभ शो’ को लागि कार्यक्रमको समन्वय गरेका थिए। अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज, मेरिल्याण्ड च्याप्टरकी अध्यक्षसमेत रहेकी नायिका चन्दले च्याप्टरको कोष अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरेको जानकारी दिएकी छिन्।

गत आइतवार यहाँ आयोजित कार्यक्रममा गायक लामाले आफ्ना चर्चित र लोकप्रिय गीतहरुसहित सहभागी दर्शकहरुलाई नचाएका थिए। यसैगरी अर्का गायक दि एञ्जेल्स ब्यान्डका राजु लामाले पनि आफ्ना केही गीतहरु प्रस्तुत गरेर माहोल मनोरन्जनात्मक बनाएका थिए। गायकद्वय राजु लामाको साथमा केही अन्य स्थानीय कलाकारले पनि आ-आफ्ना गीत प्रस्तुत गरेका थिए।

राजु लामाले आफ्नो गीत गाईसक्न नपाउँदै दर्शकहरु ‘वान्स मोर’ भन्दै हुटिंङ गरिरहेको सुनिन्थ्यो। लामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही र सगरमाथाको शिविर ६ हजार ५ सय ७४ मिटरको उचाईमा आफ्नो संगीत प्रस्तुत गर्ने पहिलो गायक पनि हुन्। उनी जलवायु परिवर्तनको असर बारे जनचेतना जगाउने अभियानमा पनि संलग्न छन्।

राजु लामालाई मेरिल्याण्ड राज्यको सम्मान

यसैबीच अमेरिकामा नेपाली मूलका पहिलो जननिर्वाचित प्रतिनिधि मेरिल्याण्ड राज्य संसदका डेलिगेट ह्यारी भण्डारीले गायक लामालाई राज्यको तर्फबाट अमेरिकी झण्डा र सम्मान पत्र प्रदान गरी सम्मान गरेका छन्। लाइभ शो सम्पन्न भएपछि कलाकार र कार्यक्रमका प्रायोजकहरुलाई धन्यवाद दिन आयोजित कार्यक्रममा डेलिगेट भण्डारीले गायक लामाले संगीतको माध्यमबाट नेपाली भाषा र संगीतलाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्न योगदान दिएको भन्दै सम्मान गरेका हुन्। डेलिगेट भण्डारी अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज, मेरिल्याण्ड च्याप्टरको संस्थापक अध्यक्ष समेत हुन्।

थप तस्बिरहरु-

फोटो सौजन्य: विक्रान्त श्रेष्ठ/नाम्लो इभेन्ट्स