स्वास्थ्य क्षेत्रमा जनतले अनुभूति हुनेगरी काम गर्छु : स्वास्थमन्त्री बस्नेत

स्वास्थ्य क्षेत्रमा जनतले अनुभूति हुनेगरी काम गर्छु : स्वास्थमन्त्री बस्नेत



सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जनतले अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० मा भएका विकास निर्माण सम्बन्धि कार्यक्रमको वार्षिक समिक्षामा मन्तव्य राख्दै मन्त्री बस्नेतले जनप्रतिनिधिले पनि राम्रो काम गरेको छ है भन्ने गरी जनताको अपेक्षा अनुसार काम गर्ने बताएका हुन् ।

‘हामीले एक सय दिनको काम सार्वजनिक गरिसकेका छौं। अहिले सरकारी अस्पतालमा बिरामीको चाप बढ्दै छ। राम्रो भएर नै सरकारीमा चाप भएको हो।अझै राम्रो बनाउन लाग्नेछौं । भनसुनको भरमा ८ सय भन्दा बढी स्वास्थ्यकर्मी काजमा केन्द्रमा नै बसेका थिए, अहिले त्यो सबै अन्त्य भएको छ। नेपालको इतिहासमा पहिलो पटक स्वास्थ्य मन्त्रालयमा भनसुनको भरमा काम गर्ने पद्धतिको अन्त्य भएको छ,’ उनले भने ।

नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तर्राष्ट्रियस्तरमा समेत भनिरहेको अवस्था रहेको उनले बताए । ‘माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावरण मिलाइदिनुस् भनेर अनुरोध समेत गर्नुभएको छ । हामीले यहाँ मेडिकल शिक्षा सहजरूपमा दिने वातावरण नमिलाउने हो भने पाँच वर्षपछि डाक्टर र नर्सको अभाव हुन्छ । यो कुरालाई ध्यान दिएर स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने हो । अव तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्छु,’ उनले भने ।

मन्त्री बस्नेतले अहिले देशभरका संघीय अस्पतालहरुमा मात्रै ३ हजार ५ सय बेडमा निशुल्क उपचार हुने व्यवस्था रहेको र आगामी दिनहरुमा अझै बृद्धि गर्ने बताए ।