काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा २९० जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर गरिएको छ । जिल्ला अदालत काठमाडौँमा २९० जनालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
यो प्रकरणमा १८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । पुरानो घटना भएकाले यसमा मुलुकी ऐन, २०२० अनुसारको बिगो दाबी माग गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्रसँगै थुनामा रहेका १८ जना प्रतिवादीलाई अदालतमा उपस्थित गराएको छ । १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा छन् ।
बालुवाटार स्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ । सीआईबीले पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छेदार सहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन राय दिएको थियो । प्रहरीको राय अनुसार ४ जना पूर्वमन्त्रीलाई प्रतिवादी कायम गरिएको छ । सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सह–सचिव सुशील वैद्यलाई पनि सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएको छ ।
ललिता निवासको जग्गाबारे २०४९ सालदेखि २०६९ सालसम्म विभिन्न सरकारी निकायबाट निर्णय भएर सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो । ती सबै काम संगठित अपराधसम्बन्धी कानुन जारी हुनुभन्दा पहिले नै भएकाले संगठित अपराधको माग दाबी औचित्ययुक्त नहुने भन्दै सरकारी वकिलको कार्यालयले किर्तेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।
प्रतिक्रिया