भारतले यसैहप्ता शनिबार सूर्यको अध्ययनका लागि अन्तरिक्षयान पठाउँदै

भारतले यसैहप्ता शनिबार सूर्यको अध्ययनका लागि अन्तरिक्षयान पठाउँदै



काठमाडौं । भारत गत हप्ताको बुधबार चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ अन्तरिक्षयान अवतरण गराउन सफल भएको छ । चन्द्र अभियानको सफलतापछि यतिबेला भारतले सूर्यको अध्ययनका लागि यसै हप्ताको शनिबार अन्तरिक्षयान पठाउने घोषणा गरेको छ ।

सेप्टेम्बर २ का दिन श्रीहरिकोटाको सतिस धवन स्पेस सेन्टरबाट रकेटमार्फत् आदित्य एल–१ रोवोटिक यानलाई अन्तरिक्षमा पठाइने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसराेले जनाएको छ ।

इसराेका अनुसार शनिबार बिहान ११ बजेर ५० मिनेटमा पहिलो सूर्यअभियान अन्तर्गत आदित्य एल–१ रोबाेटिक यानलाई अन्तरिक्षमा पठाइनेछ ।

इस्रो भन्छ, ‘आदित्य एल–१ सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्षमा आधारित भारतीय मिसन हुनेछ । अन्तरिक्षयानलाई सूर्य–पृथ्वी प्रणालीको ल्यागरेन्ज बिन्दुको वरिपरि हलो कक्षामा पठाइनेछ, जुन पृथ्वीबाट करिब १५ लाख किलोमिटर टाढा छ ।’

हलो कक्षमा उक्त रोबाेटिक यानलाई राख्नुको मुख्य फाइदा भनेको कुनै पनि समस्या बिना उक्त यानले सूर्यलाई निरन्तर अवलोकन गर्न सक्छ । यसले सौर्य गतिविधि अवलोकन गर्न र वास्तविक समयमा अन्तरिक्ष मौसममा यसको प्रभावलाई अझ बढी फाइदा दिनेछ ।

गत अगस्ट २३ मा चन्द्रयान–३ को सफलतापछि प्रधानमन्त्री नरेन्द्र मोदीले सूर्य अभियानको घोषणा गरेका थिए ।