सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड



महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले परीक्षा नियन्त्रक र सहायक परीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो । परीक्षा नियन्त्रक देवसिह नाथले १२/१५ जना समाजवादीका नेता कार्यकर्ताले कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेको बताए ।

उनले कार्यकक्षमै आएर विद्यार्थीहरूको मुख्य डाटा राख्ने सर्भरसहितको कम्प्युटरमा क्षति पुगेको उनले बताए । सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका टेबुल, कुर्सी, दराज र कम्प्युटरमा क्षति पुगेको छ। विद्यार्थीहरूको उत्तरपुस्तिकालगायत परीक्षासम्बन्धी महत्वपूर्ण कागजातमा समेत नोक्सानी पुगेको परीक्षा नियन्त्रक नाथले बताए ।

एक महिनाअघि समाजवादी निकट विद्यार्थी संगठनले छैठौं सेमेष्टरको समाजशास्त्र विषयको प्रश्नपत्र गत वर्षकै दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै परीक्षा नियन्त्रक र सह–परीक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएको थियो । 

गतसाता स्वतन्त्र विद्यार्थीले परीक्षा नियन्त्रकको कार्यालयमा लगाएको तालाले तोडेका थिए ।  विद्यार्थीले ताला तोडेपछि शुक्रबार त्यसको विरोधमा  समाजवादी निकट विद्यार्थी संगठनले कार्यकक्षमा तोडफोड गरेको हो । समाजवादी निकट विद्यार्थी संगठनले विभिन्न माग राख्दै लामो समयदेखि विश्वविद्यालयमा तालाबन्दी गर्दै आएको छ ।

अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना सृजना हुनुमा परीक्षा नियन्त्रक नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेबार रहेको जनाएको छ । अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले आफूहरूको संगठनले ताडफोड नगरेको दाबी गरेका छन् ।