बालेनलाई काठमाडौं प्रशासनले भन्यो : जथाभावी वक्तव्यबाजी नगर्नू

बालेनलाई काठमाडौं प्रशासनले भन्यो : जथाभावी वक्तव्यबाजी नगर्नू

बिदाको दिन पासबिना सरकारी गाडी चलाउन पाइन्न



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याउन अनुरोध गरेको छ ।

सोमबार सहायक प्रमुख जिल्ला अधिकारी खड्कबहादुर श्रेष्ठले विज्ञप्ति जारी गरी आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्‍याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई अनुरोध गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताएको छ ।

प्रशासन कार्यालयले बिदाको दिन पास बिना सरकारी गाडी चलाउन नपाइने बताएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सबिना काफ्ले चढेको गाडी रोकेको विषयमा जिल्‍ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरेको हो ।

‘सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्नुपर्दा तोकिएको अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था छ । यसबाट निजी काममा सरकारी सवारीसाधनको प्रयोगमा कमी आई मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको कुरा निर्विवाद छ,’ विज्ञप्तिमा भनिएको छ ।

गृहको निर्देशन अनुसार नै स्‍थानीय प्रशासन निरन्तर क्रियाशील रहेको प्रशासनले जनाएको छ ।