सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेशसँग सीआईबीले गर्‍यो सोधपुछ

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेशसँग सीआईबीले गर्‍यो सोधपुछ

भारतबाट थप एक आरोपित पक्राउ



काठमाडौं । सुन तस्करीमा संलग्न गिरोहसँग कनेक्सन देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग सोधपुछ गरेको छ ।

सीआईबीले दिउँसो उनलाई बोलाएर सोधपुछ गरेको हो । सुन तस्करीमा जोडिएको चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति परिवारको सम्पर्क सम्बन्ध सार्वजनिक रुपमा नै देखिएको छ । त्यसैले यो तस्करी प्रकरणमा दिपेश पनि प्रहरी अनुसन्धानको दायरामा आएका हुन् ।

दावा छिरिङसँग दिपेशको व्यापारिक साझेदारी नै रहेको कतिपय रिपोर्टहरु आइरहेका छन् । छिरिङले रोल्पाकी अमला रोकामगरसँग विवाह गरेका छन् । त्यही सम्बन्धको आधारमा पुनको परिवार र छिरिङबीच उठबस छ । छिरिङसहित चिनियाँ टोलिलाई लिएर दिपेश गोसाइँकुण्डसम्मको हवाईयात्रामा गएको पनि सार्वजनिक भएको थियो ।

प्रकरणमा थप एक आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भारतबाट सुमन खरेललाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका लागि खरेललाई थुनामा राख्न अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिए ।

चिनियाँ नागरिकले तस्करी गरेको सुन खरेलले नेपालमा व्यवस्थापनको काम गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ ।

खरेल पक्राउसँगै केही नयाँ तथ्य खुल्ने सीआईबीको अपेक्षा छ । चिनियाँ र बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेलगत्तै उनी भारत भागेको खुलको छ ।

उनीसहित सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । सीआईबीका अधिकारी हङकङ र भारतमा समेत पुगेर सुन तस्करीमा जोडिएका व्यक्तिबारे अनुसन्धान गर्दै छन् । भारत पुगेका सीआईबीका डीएसपी धर्मराज भण्डारीको नेतृत्वको टोलीले खरेललाई पक्राउ गरेर नेपाल पठाएको हो ।