अदालत परिसरबाट भागेका ‘टोपे’ फेरि कारागारको पर्खाल नाघेर फरार

अदालत परिसरबाट भागेका ‘टोपे’ फेरि कारागारको पर्खाल नाघेर फरार



काठमाडौं । बर्दिया कारागारबाट पहिलोपटक कैद सजाय फैसला भएपछि अदालत परिसरबाटै भागेका बर्दियाको ठाकुरबाबा नगरपालिका–८ का टोपे भनिने अजीव बुढाक्षेत्री गत आइतबार बिहान कारागारको पर्खाल नाघेर फेरि भागेका छन् ।

हत्या अभियोगमा २०७२ फागुन ५ गते बर्दिया जिल्ला अदालतले उनलाई १९ वर्ष ११ महिना ६ दिन कैद सजायको फैसला गरेको थियो । उनी ०७२ फागुन ३० गते अदालत परिसरबाटै भागेका थिए ।

भागेको समेत कसुर जोडी ३० वर्ष कैद सजाय फैसला भएका बुढाक्षेत्रीलाई प्रहरीले गत वर्ष कात्तिक २१ गते पक्राउ गरेको थियो । त्यसपछि कैद भुक्तानका लागि कारागार कार्यालय बर्दियामा दाखिला गरिएको थियो । तर, उनी यही गएको आइतबार बिहान सवा ३ बजेतिर कारागारको पर्खाल नाघेर भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले उनको खोजी भइरहेको जनाएको छ । प्रहरीले उनको ठेगाना र हुलियासहित खोजिकार्यमा सहयोग गर्न आग्रह गरेको छ ।