सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको आज सोमबार अन्तिम सुनुवाइ हुने भएको छ । यसअघि पटक-पटक पेसी चढेर पनि अन्तिम बहस हुन नसक्दा मुद्दा किनारा लाग्न सकेको छैन।

यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइँसराई गर्दा पेश गरिएको कागजात माग गरेको थियो । उक्त स्थानीय तहबाट कागजात आइसकेपछि असोज १ गतेका लागि पेसी तोकिएको थियो।

पीडित किशोरीको आमाको उमेर विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्ममिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो । सो सम्बन्धि कागजात पनि स्थानीय तहबाट आइसकेको बताइएको छ ।

सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता गराएका थिए भने लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरूले पीडित भनिएकीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी गरेका छन् ।

वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गतेको मितिमा किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको र जन्ममिति २०६२ जेठ १८ गते रहेको पीडित पक्षले दाबी गरेका छन् । तर आरोपित पक्षले भने किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको दाबी गरी किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी गरेका छन् ।

यदि किशोरीको उमेर १८ वर्ष पुगेको अवस्थामा भने आपसी सहमतिमा यौन सम्बन्ध स्थापित गर्न सक्ने अवस्था छ । सन्दीप पक्षका कानुन व्यवसायीले भने उक्त दिन कुनै जोर जबरजस्ती नभएको, सन्दीप र किशोरी हाँसीखुसी र सहमतिमै होटेलमा गई बास बसेको, निस्कँदा पनि हात समाएरै हाँसीखुसी निस्किएको सीसीटिभी फुटेजमा देखिएको भन्दै त्यसलाई बलात्कार भन्न नमिल्ने जिकिर गरेका छन् ।

आजै सुनुवाइ नसकिए हेर्दाहेर्दैमा राखेर मुद्दा किनारा लगाउने बुझिएको छ । सन्दीपले अभियोग दाबीबाट सफाइ पाउने वा दोषी ठहर हुने भन्ने निर्क्योल हुनेछ । अभियोग दाबीबाट सफाइ पाएमा उनीमाथिको सर्त र प्रतिबन्धहरु हट्नेछन् भने दोषी ठहर भएमा सजाय भुक्तानका लागि उनी जेल जानेछन् ।