सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम बहस सोमबार नहुने भएको छ। यसअघि पटक-पटक पेसी चढेर पनि अन्तिम बहस हुन नसक्दा मुद्दाले किनारा पाउन सकेको छैन। सोमबार सन्दीपको मुद्दा स्थगितमा परेको हो।

गोलाप्रथाद्वारा अदालतमा मुद्दाको तय हुने गरेको छ। कुनै न्यायाधीश बिदामा रहँदा उनीहरूकोमा समेत पेसी पर्ने सम्भावना हुने गर्छ। यस्तो अवस्थामा मुद्दा स्थगनमा पर्ने गरेको छ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले सन्दीपको मुद्दा केशव घिमिरेको इजलासमा तय भएपनि उनी बिदामा भएका कारण आजको सुनुवाइ स्थगित भएको बताए।

यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेसी रहेको थियो। उक्त दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासमा वादी पक्षले दिनभर बहस गरेपछि उनले बसाइँसराइको कागजको ढड्डा झिकाउन आदेश दिएकी थिइन्। उक्त आदेश अनुसारको ढड्डा अदालतमा आइसकेको छ। सन्दीपको मुद्दालाइ चाँडो किनारा लगाउन सर्वोच्चले १५ फागुनमा नै निर्देशात्मक आदेश गरेको थियो।

काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्र्याक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको पाँच महिना बितिसक्दा पनि मुद्दाले किनारा पाउन सकेको छैन।