कुनैबेला
मुठ्ठीमा बालुवाका कण झै
एकत्रित थिए साथीहरु
तर विडम्वना
मुठ्ठी खोल्दा औंलाका कापबाट बालुवा झरेसरी
सबै बिछोडिए सुस्तरी सुस्तरी उसैगरी
झर्दाझर्दै जसरी अल्झिन्छ
नङमा केही बालुवकाका कणहरु
उसैगरी अड्किए कतै केही साथीहरु
उनीहरुलाई,
न झर्नु थियो भुईँमा
न फर्किनु थियो अन्जुलीमा
सँगै भएर पनि सामिप्यता नभएका
मुठ्ठीका बालुवा झै मेरा साथीहरु ।
कोही सँग चाहनाले भेट्टाइदियो
कोही सँग बाध्यताले
कोही सँग पस्थितिले
त कोही सँग स्वार्थले
त्यो चाहे मेरो होस् या उनीहरुको।
जीवनमा बाटो फरक हुनु
कारण म मात्र दोषी थिइनँ
दोष थियो कतै भने
परिस्थिति थियो या बाध्यता थियो
चाहे मेरो होस् या उनीहरुको ।
थिएनन् दोषी परिस्थिति र बाध्यता मात्र पनि
थिए त दोषी चाहना र सपनाहरु पनि
चाहे मेरा हुन् या त उनीहरुका ।
छुटेका साथीहरु
फेरी भेटिएछ कतै भने
सोध्न मन छ-
बालुवा झै मुठ्ठीबाट फुस्किएका साथीहरु
फेरी पुग्यौ उही बगरमा कि
पुग्यौ कतै अत्याधुनिक महलमा ?
प्रतिक्रिया