परदेशिएको एउटा छोरो
समयसँग पैसा मात्रै होइन
आफ्नै उमेर साटेर
घाम, धुलो र पसिनामा
आफ्ना सपना साटेर
हिँड्दै सोचिरहेको छ
अभाव र गरिबीका काँडाले
अब नघोचून्
एकछाक खानुअघि आमाले
सयपटक सोच्न नपरोस्
उसले थाकेका पाखुरीलाई
फेरि एकपटक
बलियो बनाउने प्रयास गर्दै
समयसँग पैसा साटिरहेको छ
यता घरमा
एउटी आमा
अँध्यारो कोठाभित्र
पुराना सपनाहरू
पोल्टोभरी भरेर
ढोकातिर हेरीबसेको बर्षौ भयो
हरक्षण सोचिरहेकी छिन्
जुनकिरीले टिमटिम उज्यालोमा
के खोजीरहेको होला ?
आजभोलि
इन्द्रेणीका रंग फिक्का किन देखिएको छ ?
सिमलचरीले गाउन किन बिर्सिएको छ ?
किन पवनका सुस्केरामा
अब चान्चल्य रहेन
किन चाडपर्व पहिलाको त्यो रौनक रहेन ?
छोरा परदेशीएसँगै
आमाले बीच छाती छोएर सोधिरहन्छीन्
किन यहाँ धेरै भित्र पोलीरहन्छ ?
किन मन यस्तो छट्पट् गरिरहन्छ ?


प्रतिक्रिया