जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिबीचकाे विवादले उग्ररुप लिएपछि स्थिति तनावग्रस्त बनेको छ । नगर प्रमुख रामपुकार साह र चार दिनदेखि धर्नामा बसेका वडाध्यक्षहरु पक्षबीच झडप भएको हो ।
दुवै पक्षबाट ढुंगामुढा हुन थालेपछि तनाबग्रस्त बनेको स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै कैयौं सेल आश्रुग्यास प्रहार गरेकाे छ । तर अझै स्थिति नियन्त्रणमा आउन नसकेको बताइएकाे छ ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले १२ सेल र सशस्त्र प्रहरीले १५ सेल आश्रुग्यास प्रहार गरेको बताए । प्रहरीले थ्रिनटथ्रि राइफलबाट ५ राउण्ड हवाई फायर समेत गरेको उनले बताए ।
झडपमा ६ सुरक्षाकर्मीसहित दर्जनौं व्यक्ति घाइते भएका छन् । स्थानीयका अनुसार नगर प्रमुख र वडाध्यक्षहरु दुबै पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन् । झडकका क्रममा नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरिएको छ । कार्यालयको झ्यालको सिसाहरु ढुंगामुढाबाट फुटेको छ ।
नगर प्रमुख साहले गत आर्थिक वर्षको आयव्यय सार्वजनिक नगरेको भन्दै छ वटा वडाध्यक्ष चार दिनदेखि धर्नामा छन् ।
वडाध्यक्षहरु धर्ना बसेका बेला नगर प्रमुख साह १५-२० जना बाहिरका व्यक्ति लिएर अचानक कार्यालय प्रवेश गरी धाकधम्की लगाएपछि तनाव भएको र पटक-पटक झडप भएको स्थानीयले बताए ।
प्रतिक्रिया