कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसकाे पहल

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसकाे पहल



काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको हो ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले भने, ‘कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कुरा भएको छ । सबै पदाधिकारी साथीहरुले सभापतिलाई त्यही सुझाव दिनु भएको छ ।’

सभापति देउवाले पदाधिकारी बैठकमा गठबन्धनबाट बाहिर गएर सरकार बनाउन नहुने बताएका छन् । गठबन्धनलाई अप्ठ्यारो पार्ने र प्रश्न उठ्ने कुरा केही पनि गर्न हुँदैन भन्नेमा देउवा क्लियर देखिन्छन् ।

सभापति देउवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने बताइएको छ । आज नै प्रधानमन्त्रीले कोशीका विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि छलफल गर्ने तयारी गरेका छन् ।

विकल्पहरुबारे ती दलमा छलफल गर्ने र पुनः बैठक बस्ने गरि आजको बैठक टुंगिएको हाे ।

प्रदेश प्रमुखले २६ असोजसम्म १६८ (५) अनुसार कोशीमा सरकार बनाउन समायावधि दिएका छन् । उक्त व्यवस्था अनुसार संसदको कुनै पनि एक सदस्यले आफूले बहुमत पुगेको सिद्ध गर्नुपर्दछ ।