तडकभडक गरेर मलाई पदमा पुग्नु छैन : डा. ज्ञानेन्द्र रेग्मी (सचिवका प्रत्यासी)

तडकभडक गरेर मलाई पदमा पुग्नु छैन : डा. ज्ञानेन्द्र रेग्मी (सचिवका प्रत्यासी)


ग्लोब नेपाल
729
Shares

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन तथा विश्व सम्मेलन आगामी सातादेखि काठमाण्डौंमा सुरु हुदैछ । संघको नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा ७४ पदमा प्रतिस्पर्धा हुँदैछ । यसैबीच संघको सचिव पदमा अष्ट्रेलियाबाट डा. ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी दिने तयारी गरेका छन् । सो सम्मेलन केन्द्रीत भएर गरिएको कुराकानीको एक अंश ।

० राष्ट्रिय समितिको अध्यक्ष पराजित भएर की फेरी केन्द्रीय सचिवमा उम्मेदवारी ?
– २ बर्ष अगाडि कुनै पनि एनसीसी (अझ ठूला बिकसित राष्ट्रका एनसीसी) को निर्वाचनमा भएको गाईजात्राले आइसीसीको निर्वाचन हुन सकेन । कही नभएको जात्र हाडी गाउँमा भने जस्तै भएको थियो । त्यो निर्वाचनमा पैसाको खोलो बगाएर बल्क मेम्बर बनाएर आफ्नो अस्तित्व आइसीसीमा देखाउछु भन्ने पूर्वपदाधिकारी लाग्दा र बल्क मेम्बर रोक्न अल्पमतमा पर्दा मसँग २ वटा बिकल्प थिए। कि त हात उठाएर संस्थाबाट सधैंलाई बिदा हुने कि त सकुन्जेल बिकृतिको बिरुद्द लडने रु मैले दोस्रो बाटो रोजे। गलत नेतृत्वको कारण संस्था छाडेको भए संस्थालाई माया गर्ने मान्छे म अहिले केन्द्रमा सचिब पदमा किन उम्मेदवारी दिन्थे होला र ? एनसीसी देखि आइसीसीसम्म संस्था शुद्धिकरण गर्नुपर्छ र संस्था नयाँ ढंगले चल्नुपर्छ भनेर नै अहिले केन्द्रमा उम्मेदवारी दिइएको हो ।

० के छन् त्यस्ता अजेण्डा जस्ले तपाईको जीत सुनिश्चित हुन्छ ?
– म एक प्राज्ञिक एवम प्राबिधिक ब्यक्ति भएकोले संस्था शुद्धिकरण, पारदर्शिता र सचिवालयलाई बलियो बनाउने नै हो । संगठन सुधार एवम शुद्धिकरणको मेरा आन्तरिक अजेण्डा हुने छन । जुन अहिलेको भद्रगोलमा मलाई मतदाताले यो मान्छेले गलत कार्य चाहिँ गर्दैन र गर्न दिदैनन भनेर जिताउने आधार हुन्छ ।
नेपाल सरकारसँग जोडीएका मेरा प्रमुख एजेण्डा र कार्यदिशा चाँहिँ यि कुरामा फोकस हुने छन् ।

  • गैरआवासीय नागरिकता चाढोभन्दा चाढो सहज तरिकाले बितरण गर्न नेपाल सरकारसँग परामर्श
  • गैरआवासीय नागरिकता ३ पुस्तामा सीमित यो नागरिकताले गैरआवासीय नेपालीको भावनालाई नेपालसँग जोडाउने भन्दा टुटाउने काम गर्छ । त्यसैले यो ३ पुस्ते ब्यारियर हटाउन पहल गर्ने, बिकल्पमा सात पुस्ता पु–याउने आधार सहित कार्यपत्र पेश गरेर नेपाल सरकारसँग लबिङ गर्ने
  • गैरआवासीय नेपाली नागरिकता प्राप्त भएपछिको ठोस् कार्यदिशा बनाउने (अबको १० बर्षमा एनआरएनएन)
  • गैरआवसीय नेपालीलाई नेपालमा सामुहिक लगानी गर्न मनोबल बढाउन नेपाल सरकारसँग सहकार्य गर्दै बिभिन्न मोडलका योजना निर्माण गर्ने । समृद्धि नेपाल बोलीमा होइन योजना बनाएर नेपाल सरकारलाई कार्यपत्र पेश गर्ने ।
  • बिगत केही बर्षदेखि देखिएको एनसीसी र आइसीसीको बिचको डेलिगेट्स जुवारी अन्त गर्न सबै देशको एनसिसिको कार्यसमितिको अभिलेखालय राखेर डेलिगेट्स छान्न सफ्टवेर प्रयोगमा ल्याउने । लगाम बिनाका घोडाका जस्ता प्रवृत्ति अन्त्य गर्ने
  • दोस्रो पुस्तालाई नेपालसँग कनेक्सन गराउने ठोस् योजना बनाउँदै कार्वान्यवन गर्ने

० चुनाव खर्चिलो हुन्छ भन्छन् कसरी जुट्छ खर्च ?
– टेक्नोलोजीको जमानामा टेक्नोलोजी प्रयोग गर्ने हो, पैसा खर्च गर्ने होइन भन्ने मेरो मान्यता हो । अहिले डेलिगेट्स फी जिरो डलर छ, हाइब्रिड मोडलमा निर्वाचन हुँदैन, नेपाल जान मन नलागेका र नसक्नेहरुलाई पनि अनलाइन भोट् हाल्ने बन्दोबस्त छ। पैसा खर्च गरेर समाज सेवा हुँदैन पनि, त्यसैले मैले प्रबिधि प्रयोग गर्ने हो र भोट माग्ने हो, डेलिगेट्स १ कार्यकाल एनसीसीमा काम गरिसकेको ब्यक्ति नै हुनु भएकोले टेक्नोलोजी प्रयोग गरेर आफ्ना एजेण्डा राख्न सक्छु भन्ने लगेको छ र मेरो उम्मेदवारी खर्चिलो र भड्किलो हुँदैन।

आर्थिक रुपमा सक्षम उम्मेदवार आफ्नो खुशीले भेटघाटमा जाने उहाँहरुको अधिकार हो। डेलिगेट्सलाई प्लेन टिकट काटेर, रजिस्ट्रेसन फी तिरेर, होटल बुक गरेर चुनाव जिताइदिन्छु भनेर कसैले भन्छ भने मलाई त्यो चहिदैन भन्दिन्छु । किनकि मलाई तडकभडक गरेर त्यो पदमा पुग्नु पनि छैन । त्यसरी पुग्नेले खादा लाउने र नेताहरु भेट्ने भन्दा गैरआवसीय नेपालीको मुद्दा सम्बोधन पनि गर्न सक्दैनन भन्ने हामी सबैले बुझेकै छौं ।

० ६–६ वटा सचिव छन् सबैलाई काम पुग्छ ?
– काम गर्छु भन्ने सबै पदधिकारीहरुले रोजेको जिम्मेवारी लिन सक्नुहुन्छ जस्तो लागेको छ। सचिवालय बलियो बनाउन धेरै काम गर्नुपर्ने देखिन्छ । बिभिन्न बिभागका जिम्मेवारी लिने, बिभाग र टास्क्फोर्सबीच समन्वयन गर्ने, कार्य योजना बनाउने जस्ता धेरै काम छन् । सबै सचिबलाई पुग्ने गरी जस्तो लागेको छ

० संस्थामा प्राज्ञिक तथा बौद्धिक व्यक्तिहरुको अवस्था कस्तो छ ?
– संस्थामा प्राज्ञिक तथा बौद्धिक व्यक्तिहरुको संख्या एक्दमै थोरै छ । उहाँहरुलाई पनि संस्थामा साधारण सदस्यमा सीमित नराखी जिम्मेवारी दिएर अगाडि ल्याउनु पर्छ। जस्तो कि बिज्ञहरुको १ वटा छुट्टै बिभाग बनाएर सुरुमा सब–कमिटीको रुपमा अगाडि बढाउन सकिन्छ । प्रोजेक्टहरुमा सम्बन्धित क्षेत्रको विज्ञलाई जिम्मेवारी दिने। कार्यसमितिका साथीहरुले योजना कार्वान्यनन गर्ने हो, सबै ठाउँ आफैंले जिम्मेवारी लिएर ओगटेर बस्ने होइन।

संस्थामा प्राज्ञिक तथा बौद्धिक व्यक्तिहरु भित्र्याउन बिधान संशोधनमा १ उपाध्यक्ष र सचिब थपी प्राज्ञिक तथा बौद्धिक व्यक्तिहरुलाई छुट्टाउनु पर्छ । उहाँहरुको क्राइटेरिया भिन्नै बनाउनु पर्छ । प्राज्ञिक तथा वैद्धिक व्यक्तिहरु को डिपार्टमेन्ट खडा गरी थिन्क ट्यान्क बनाउनु पर्छ।

० आगामी दिनमा संघ कसरी अघि बढ्नु पर्ला जस्तो लाग्छ ?
– बिगत केही बर्षदेखि संस्थाको साख निक्कै गिरेको छ, हिजो एनआरएनए भन्दा शिर ठाडो गरेर नेपालका ब्युरोक्राट्सदेखि मन्त्रालयका पदाधिकारीहरुसँग एजेण्डामा बहस गर्ने एनआरएनए थियो। तर आज त्यो छैन । संघको बिगत केही बर्षदेखिको खस्केको साख जोगाउन, अझ संस्था जोगाउन भनेर ३ अध्यक्ष सहितको बनाएको जम्बो कार्यसमिति भागवण्डा पु-याउन होइन भनेर प्रमाणित गर्नलाई पनि निर्वाचनपछि कुनै प्रतिसोध नरखी पारदर्शी र शुद्धिकरणलाई प्राथमिकतामा राखेर सही व्यक्तिलाई सही जिम्मेवारी दिँदै अगाडि बढनुपर्छ र संघले १० बर्षे कार्ययोजना तर्जुमा गर्नुपर्छ ।

० अब आउने नेतृत्वलाई केही भन्न चाहानु हुन्छ ?
— अब आउने नेतृत्वले संस्थाको मातृभूतिप्रति माया कामले देखाउनुपर्छ । त्यसको पहिलो कदम नेपाल सरकारको एउटा ठूलो प्रोजेक्टमा गैरआवशीय नेपालीलाई सामुहिक लगानी गर्ने बातावरण तयार गरेर नेपाल सरकारसँग साझेदारी बन्नु पर्छ । संस्थाको आन्तरिक संरचना सुधार गर्दै संस्थालाई चलायमान बनाउनु पर्छ।