विद्यार्थी लिन राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल जाने

विद्यार्थी लिन राति ११ बजे नेपाल एयरलाइन्सको जहाज इजरायल जाने



काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने तयारी छ । नेपाल एयरलाइन्सको जहाज पनि तयारी अवस्थामा रहेको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनी लडाकू समूह हमासको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका १० नेपाली विद्यार्थीहरुको निधन भएको थियो ।

यसैगरी आक्रमणमा परेर सम्पर्कबिहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी जारी छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।

दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरुमा खोजी गर्दा विपिन फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।