एमाले मधेस अधिवेशनमा पदाधिकारी सर्वसम्मत

एमाले मधेस अधिवेशनमा पदाधिकारी सर्वसम्मत



जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको छ । अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका छन् । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुन् ।

उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) चयन भएका छन् ।

अध्यक्ष छनोट भएका मण्डल पोलिब्युरो सदस्य लिलानाथ श्रेष्ठ निकटका छन् भने उपाध्यक्ष विचारी यादव केन्द्रीय सचिव रघुवीर महासेठ निकट मानिन्छ ।

अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।

‘सबैलाई समेटेर लैजान पदाधिकारीमा सर्वसम्मत गर्‍यौं । केहीबेरमा निर्वाचन प्रक्रिया सुरू हुन्छ। पदाधिकारीमा उहाँहरूले मात्रै मनोनयन दर्ता गर्नुहुन्छ,’ केन्द्रीय सदस्य तथा एमाले मधेस प्रदेश संसदीय दलका नेता यादवले भने ।

एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ । आज बेलुकासम्म सदस्यहरूको टुंगो लाग्ने अध्यक्ष मण्डलले जानकारी दिएको छ ।

मधेस प्रदेश अधिवेशन बुधबारबाट जनकपुरमा सुरू भएको हो ।

यसअघि उपत्यका विशेष प्रदेश र सुदूरपश्चिममा एमालेले सर्वसम्मत रूपमा पदाधिकारी चयन गरेको थियो भने लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशीमा चुनावबाट नेतृत्व छानिएको थियो ।