गैरीगाउँ हत्याकाण्ड : सञ्जयविरूद्ध जीवित रहेसम्म काराबासको सजाय माग गर्दै मुद्दा दायर

गैरीगाउँ हत्याकाण्ड : सञ्जयविरूद्ध जीवित रहेसम्म काराबासको सजाय माग गर्दै मुद्दा दायर



काठमाडौं । काठमाडौंको गैरीगाउँमा चार जनाको सामूहिक हत्या अभियोगमा पक्राउ परेका २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध आजन्म (जीवित रहेसम्म) काराबासको माग गर्दै मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले भन्डारीलाई बाँचुञ्जेल काराबासको मागदाबीसहित अभियोगपत्र दायर गरेको हो ।

प्रहरीले आरोपी भण्डारीको साथबाट बरामद भएको कपडा र हतियारमा देखिएको रगतसँग मृतकहरूको डीएनए मिलेको अनुसन्धानबाट खुलेको हो ।

अनुसन्धान सकेर बुधबार प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएकोमा उनीविरुद्ध आजीवन काराबासको मागदाबीसहित मुद्दा दायर गरिएको छ । भण्डारीले व्यक्तिगत प्रतिशोधका कारण हत्या गरेको प्रहरी निष्कर्ष छ ।

जन्मजात बोल्न नसक्ने भएकाले प्रहरीले दोभासेमार्फत उनको बयान लिएको थियो । बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको बताएपछि अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ गरेको थियो । उक्त परीक्षणमा भण्डारीको दिमाग सामान्यभन्दा तीक्ष्ण देखिएको थियो ।

सञ्जयले भदौ ३० गते श्री दिव्य स: मिल तथा काष्ठ उद्योगमा नवीन भनिने विशाल राई, दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको हत्या गरेका थिए ।