विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन् ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सँगै उनले आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
यसअघि, एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीले विश्वासको मत नपाउने स्थितिपछि असोज २० गते राजीनामा दिएका थिए । त्यसपछि असोज २६ गतेभित्र उपधारा ५ बमोजिम सरकार गठनको आह्वान गरिएको थियो ।
नेपाली कांग्रेसका २९ मध्ये ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेलाई पनि सरकारमा सहभागी गराएका हुन् ।
प्रतिक्रिया