काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ले बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ ।
श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको अस्पतालले जनाएको छ । उनकाे मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ ।
श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहेका र उनी स्थिर अत्यावश्यक संकेतहरूका साथ पूर्ण रूपमा सचेत रहेका पनि अस्पतालले जनाएको छ ।
‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो ।
चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया