सेना आउ–जीवन बचाउ

सेना आउ–जीवन बचाउ



हामी अग्नी कुण्डको माथि अत्यन्त हर्कती, चलायमान र अस्थिर प्लेटको टुप्पोमा जोखिमपूर्ण जीवन जिउन बाध्य छौं, र पहिलो प्रतिरक्षा हाम्रो सचेतना, साबधानी, सतर्कता हो । र, भुकम्प आउने अवश्यम्भावी छ । तसर्थ हर दिन, हर समय ठूलो भुकम्प आउछ भनेर सचेतना सावधानी र शतर्कता एवम् पूर्व तयारी गर्नु हामी सबै सचेत नागरिकको कर्तब्य हो भनेर शून्य क्षतिको प्रार्थना गर्दै लेखेको मेरो लेख ३ दिन अगाडि प्रकाशित भएको थियो । ३ दिन पछाडि आएको भुकम्प र क्षति देखेर आज म धेरै खिन्न र मर्माहत् भएको छु । त्यसैले यो लेख हिजो मद्यराती गएको भुकम्पमा केन्द्रित हुनेछ ।

आज एकाबिहानै लेख पढ्ने धेरैको फोन आयो । पढ्न बाँकी धेरैले हतारहतार लेख पढेको जानकारी पाएँ । पूर्व उद्धारकर्मीको हैसियतले उद्धार खम्बा नेपाली सेनाका प्रधानसेनापतिलाई बिहानै फोनबाट शीघ्र उद्धार, उपचार, राहतको लागि अनुनय बिनय गरें । भुकम्पको आफ्नो पीडामा मल्हमपट्टी लगाएँ ।

युएन महासचिवको नेपाल भ्रमणको समिक्षा लेख लेख्न छाडेर पूर्ब प्रधानसेनापतिलाई भेट्न र सम्मान गर्न पुगें । जो २०७२ को महाभुकम्पमा झण्डै आफैं च्यापिएर बालबाल बाच्नु भएको थियो । तथापि, बन्द बाङ्गो ढोका तोडेर शनिबार छुट्टीको दिन ३० मिनेट भित्र उहाँ जंगीअड्डा पुग्नुभएको थियो । “गर नत्र मर (डू अर डाई)” को आदेश दिएर संगठनलाई उद्धार, उपचार, राहत र पुनर्निर्माणमा होम्नुभएको थियो । पंक्तिकारलाई केन्द्रीय उद्धार ईन्चार्ज तोकेर ठूलो र संबेदनशील जिम्मेवारी दिनुभएको थियो । त्यो महाभुकम्प र उद्धारका बारेमा मेरो पुस्तक लेखन जारी छ ।

पाल भित्रको बास, पाल भित्रकै कार्यालयबाट उहाँले अहोरात्र खटेर त्यो महाभुकम्पको उद्धार कार्य तीब्र बनाउनु भयो । क्षती न्युनिकरणमा उहाँको गतिशील नेतृत्व, दूरदर्शिता, त्याग र समर्पणले पूर्वानुमान गरिएको क्षति घटेर १ चौथाईमा सीमित रहेको बिज्ञहरुको दाबीमा सत्यता थियो ।

त्यो र यो भुकम्पको संयोग
त्यो महाभुकम्प शनिवार मद्य दिउसो गएको थियो । प्रायः धेरै घर बाहिर । यो परकम्प शुक्रबार मध्य राती आयो । दुबै छुट्टीको दिन । करिब १२ घण्टाको अन्तराल, तर यो सबै जना घर भित्र रहेको र मस्त आराम बिश्राम एंव चिर निन्द्राको समयमा आयो ।

अति ईमान्दार, कर्मठ्, अनुशासित र बहादुर पल्टन पुरानो गोरखले नेपाली सेनालाई ३-३ जना प्रधानसेनापति दिएको छ । महाभुकम्पमा पुरानो गोरखले नेतृत्वमा पु¥याएको प्रधानसेनापति हुनु र यो परकम्पमा पुरानो गोरखकै अर्को सेनापति हुनु अर्को गजबको संयोग । यो कठिन घडीमा खरो अग्नी परीक्षामा उत्रेर चुनौतीलाई अवसरमा बदल्ने अपूर्व अवसर प्राप्त भएको छ वर्तमान प्रधानसेनापतिलाई ।

प्रधानसेनापतिको अग्नीपरीक्षा
प्रधानसेनापतिका पिताजिको शिक्षा क्षेत्रमा योगदान धेरै सुनिआएको कुरा हो । पिता पुर्खाहरुको जग्गा दान र परोपकारी काम सुनेर भर्खरै नतमस्तक भएको थिएँ । उहाँको आफ्नै समाजसेवा प्रतिको आकर्षण र परोपकारी मन ध्यान झन् तेज र उचो छ । त्यसको प्रत्क्षदर्शी वालवालिकाको सेवामा समर्पित पंक्तिकार आवद्ध किवानिज लगायत धेरै संघ–सस्थाहरु छन् । त्यस्तो गौरवशाली पृष्ठभूमि भएको सरल र शालीन प्रधानसेनापतिबाट यो बिपदमा झन् धेरै खोज, उद्धार, उपचार र राहतको आशा अपेक्षा जाग्नु पाल्नु स्वभाविक हो ।

नेतृत्वको २ बर्ष पूरा भईसकेको र अन्तिम १ बर्ष भन्दा कम समय बाँकी रहेको सम्बेदनशील घडिमा प्रधानसेनापतिलाई पीडित प्रकृति, धर्ती र जनतालाई गुन लगाउने र धर्म कमाउने अन्तिम होला नहोला तर यो एउटा अपूर्व अवसर हो । तसर्थ, यो अग्नी परीक्षामा उहाँको ध्यान, मन, त्याग, समर्पण पीडितको पक्षमा जावस् र पीडितले सर्वाधिक शीघ्र र सुलभ उद्धार, उपचार, राहत र पुनर्निमाणको पहुँच सुविधा उपभोग गर्न पाउन् । त्यही छ पंक्तिकारको शुभकामना ।

आशा र अपेक्षा
महाभुकम्पमा प्रधानसेनापति छुट्टी त्यागेर ३० मिनेटमा कार्यालय पुग्दा पल्टनहरु भग्नावशेषमा पुगेर धमाधम घाईतेहरुलाई निकालिरहेका थिए । ब्यारेक खाली थिए । फौज उद्धारमा स्वपरिचालित भईसकेका थिए । टेलिफोन कामयावी नभएपछि स्याटेलाईट फोन र सेनाको संचार सेटबाट चुस्त मिलाप कायम भईसकेको थियो । दोहोरो मिलाप अबरुद्ध हुन पाएन र उद्धार चुस्त दुरुस्त हुन पायो । कति गर्वयोग्य पूर्व नजीर !

अहिले नेपाली सेनाको काँधमा अल्पकालीन मद्यकालीन र दिर्घकालीन जिम्मेवारी छन् ।

अल्पकालीन जिमेवारी स्थानीय गणगुल्म बाहिनीहरुले स्वविवेक र स्वनिर्णयमा पूरा गरेकै छन् । त्यसको लागि लिखित मौखिक आदेश निर्देशन जरुरी पर्दैन । स्वविवेक र स्वनिर्णयमा उद्धार उपचारमा होमिएर जीउधनको रक्षा कल्याण गर्ने अधिकार स्थानीय र प्रदेशमा तैनाथ फर्मेसनलाई छदै छ ।

तत्काल गर्नुपर्ने काम मृतकको खोजी भन्दा घाईतेको उद्धार हो । पुरिएर थिचिएर निस्सासिएर कसैको ज्यान नजावस भन्ने प्राथमिकता स्थानीय उद्धारकर्मीको हुनुपर्दछ । स्थानीय फौज नपुग भएमा पृतनापतिले घटनास्थलमा फौज एकत्रित गरेर खोज र उद्धार कार्यलाई पहिलो प्राथमिता दिनुपर्दछ । स्थानीय युनिटहरुको टिम बिल्डङ्ग र टिमवर्कको अग्नी परीक्षा घडी हो यो । उद्धारकार्य सम्पर्क समन्वय, सहकार्य, टिमवर्कमा आधारित हुन्छ । स्थानीय श्रोत साधनको परिचालन र ईम्प्रोभाईजेसन क्षमताको परीक्षामा छन् स्थानीय ईकाईहरु ।

मध्यकालीन जिम्मेवारी उपचार र राहतका काम हुन् । नेपाली सेनाले राज्यका अस्पतालहरुलाई स्ट्याण्डबाई राख्न र भुकम्प पीडित घाईतेलाई प्राथमिकतासाथ उपचार दिन केन्द्रमा समन्वय गरिदिनुपर्दछ । अथवा, आफ्ना क्षेत्रीय र केन्द्रीय अस्पतालमा निःशुल्क उपचार सुबिधा उपलब्ध गराएर पीडितलाई गुन लाउनु पर्दछ ।

भुकम्प प्रभावित क्षेत्रका पीडित परिवारका सैनिकहरुलाई लामो बिदा छुट्टीमा पठाएर उद्धार राहत र पुनर्निमाण काममा सघाउन निर्देशन दिनु अर्को परोपकारी काम हुनेछ । सम्पूर्ण हवाई साधन उद्धार खोज कार्यमा दिनु र मरामत संभार गरेर घण्टा बढाई थप हवाई साधनको बन्दोबस्त गर्न मनासिव हुनेछ । नपुग भएमा निजी हवाई साधन परिचालन र प्रयोगको बिकल्प रोज्नु उपयुक्त हुने छ ।

जाडो याम सन्नीकट् भएकोले पुनर्निमाणको काम शीघ्र गर्न सम्बन्धितलाई घच्घच्याउन जरुरी छ । तबसम्मको लागि अस्थायी पाल र जाडोको लत्ता–कपडा बन्दोबस्तीमा सेनाले आन्तरिक श्रोत साधनबाट समेत नागरिकलाई आपतकालीन राहत उपलब्ध गराउन सक्दछ ।

स्थानीय युनिटहरुले एकीन गर्नुपर्ने कुरा कोही खुला आकासमुनि भोको पेट नबसून् । ८ बर्ष पुरानो महाभुकम्पमा धेरै ब्यारेकले आफ्नो भान्छा भात ओछ्यान सेयर गरेर सिभिल नागरिक र समुदायलाई गुन लगाएका थिए ।

दीर्घकालीन योजनामा पुनर्निमाणको काम र भुकम्प प्रतिरोध नया घर, गाउ, सहरको पुनस्र्थापना हो । जुन मुख्यत राज्यको जिम्मेवारी भएकोले सूचना, दबाब, समन्वय, सहकार्य र बजेट बिनियोजनको कुरा हो । नेपाली सेनाले शीघ्रता र सुशासनको रखवारी खबरदारी गरेर जनतालाई राहत सुबिधा उपलब्ध गराउन जोडबल लगाउनु पर्दछ ।

अल्प, मद्य र दीर्घकाल योजनालाई लक्ष्मण रेखाले छुट्याउन मिल्दैन । कतिपय काम ओभरल्याप भईरहेको हुन्छन् र हुनुपर्दछ । नेपाली सेनाले तत्काल गर्नुपर्ने कामलाई सुझावको रुपमा बुँदाबुँदामा प्रश्तुत गरेको छु ।

दक्षिण र पश्चिमलाई हिमाल पहाड लुकाउनु र उत्तरलाई तराई नदेखाउनु नपु¥याउनु भन्ने पृथ्वी नारायण शाहको गोप्य रणनीति आज झन् मार्मिक र सान्दर्भिक छ । तसर्थ, यो बिपद्मा विदेशी फिजिकल उद्धार सहयोग गुहार गर्नु नपर्ने गरि नेपाली सेनाले खोज, उद्धार र उपचारमा आफ्नो सम्पूर्ण शक्ति केन्द्रीकृत गरोस् । कही केही अभावको अनुभूत हुन नदियोस् ।

मुख्य प्रभावित क्षेत्रमा ट्याक्टिकल हेड्क्वाटर खडा गरि पृतनापति स्थानान्तरण हुने ।

उद्धार खोज कार्यलाई पहिलो ३ दिनमा पूरा गरिसक्ने । र, तालिम प्राप्त खोज र उद्धार टोली (इन्जिनियर, रेञ्जर, स्पेसल फोर्स) लाई शीघ्र, घटनास्थलमा तैनाथ गर्ने ।

संभव भए प्रभावित क्षेत्रमा मोबाईल सैनिक अस्पताल स्थापना गरेर उपचार जारी राख्ने । संभव नभए सुबिधा सम्पन्न बृहद् स्वास्थ्य शिविर खडा गर्ने । जटिल र धेरै घाईतेलाई छिटो हवाई साधनद्वारा क्षेत्रीय र केन्द्रीय अस्पतालमा पु-याई उपचार दिने ब्यवस्था मिलाउने । महामारी नियन्त्रणको लागि आवस्यक ब्यवस्था मिलाउने ।

अस्थायी पाल, घर, टहरा बनाउने ईन्जिनियर्स टोली परिचालन गर्ने ।

घरबारबिहीन खानाबिहीन र लत्ताकपडाबिहीन पीडितहरुलाई ब्यारेक, स्कूल, खुला चौरमा बसोबास गराई जीवनयापनको आश्रय दिने ।

पुनर्निमाण चरणमा नमूना गाउँ र नमूना बस्ती बनाउन श्रमदान, भौतिक एवं प्राबिधिक सहयोग गर्ने ।

श्रीमती संघको राहत सहयोग शीघ्र पु-याउने ।

कल्याणकारी र भु.पु. सैनिक संघलाई सहयोगको लागि परिचालन गर्न सकिने ।

आवश्यक परे आधा तलब, आधा पेन्सन, आधा छाक खाएर भु.पु. र वर्तमान सबैले एकट्ठा सहयोग जुटाएर पीडितको घाउमा मलम पट्टी लगाउन बान्छनीय हुने ।

याे पनि हेर्नुहाेस्- भुकम्प र जीबजन्तु

उपसंहार
आम नेपालीलाई हर दिन, रोज, समय महाभुकम्पको लागि तयारी रहन, सुरक्षित रहन र उद्धारमा जुट्न यो विपद् अर्को नया बिगुल हो ।

ठूला चाडबाड्को मद्यान्तर र मद्य रातको बिश्राम पारेर आएको यो भुकम्प परकम्प जे होस्, ले राजनीतिक एकताको डोरीमा सबैलाई उनेर उद्धार राहतमा जुटाउन हामी सबैलाई उत्प्रेरित गरोस् । ब्यक्तिगत, निजी, दलगत होईन राष्ट्रिय स्वार्थ र सबैभन्दा ठूलो मातृभूमि र जनता भन्ने सन्देश बिभाजित नेतृत्व बर्गमा बिजारोपण गरिदियोस् ।

नेपाली सेनाले मुलुकको दुर्गम बिकट क्षेत्रमा गएको यो कम्पन र क्षतिलाई न्यूनिकरण गर्न कुनै कसर बाँकी नराखोस् । प्रधानसेनापति र प्रभावित क्षेत्रका रक्षामन्त्रीलाई सुवर्ण अवसर । रुकुमका ऋणी प्रधानमन्त्रीलाई गुन ऋण तिर्ने र धर्म कमाउने दुर्लभ अवसर ।

बिपद्को पुस्तक लेखिरहेको पंक्तिकारलाई यो दुखद् घडिको अध्यायलाई चित्रण गर्न सफल सुखद्् र गर्वयोग्य कथा तथा मसलाहरु प्राप्त होस् ।

अन्त्यमा, समृद्ध र सुखी समाजको सपना पालेर बस्नेहरु जसले यो बिपद्मा ज्यान गुमाए उहाँहरु प्रति हार्दिक श्रदाञ्जली । कोही नहराउन् र घाईते कसैको ज्यान नजावस् भन्दै शीघ्र खोज, उद्धार र उपचारको लागि प्रार्थना गर्दछु ।

उद्धार र खोज कार्यमा समर्पित सबै सुरक्षा निकायहरुलाई सलाम र सफलताको शुभकामना ।
(लेखक पूर्व उद्धारकर्मी र संरक्षणकर्मी हुन्)