अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम्ड आउट’ हुने पहिलाे खेलाडी बने एन्जेलाे म्याथ्युज

अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम्ड आउट’ हुने पहिलाे खेलाडी बने एन्जेलाे म्याथ्युज



नयाँदिल्ली । श्रीलङ्काका क्रिकेटर एन्जेलाे म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम्ड आउट’ हुने पहिलाे खेलाडी बनेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत दिल्लीकाे अरुण जेटली स्टेडियममा बङ्गलादेश र श्रीलङ्काबीच भइरहेकाे खेलका क्रममा श्रीलङ्काका खेलाडी एन्जेलाे म्याथ्युज ‘टाइम्ड आउट’ भएका हुन् ।

आईसीसीकाे नियमअनुसार क्रिजमा रहेका खेलाडी आउट भएपछि त्याे खेलाडीकाे ठाउँमा जाने खेलाडी अधिकतम तीन मिनेटभित्र बल खेल्नका लागि तयार हुनुपर्छ । श्रीलङ्काका खेलाडी म्याथ्युज समयमै मैदानमा पुगेका थिए । तर हेलमेट ठीक नभएकाे भन्दै उनले निर्धारित समयभित्र बल खेल्न सकेनन् ।

त्यसपछि बङ्गलादेश टिमले अम्पायरलाई आईसीसीकाे नियमअनुसार म्याथ्युजलाई आउट दिन अपिल गरेका थिए । अम्पायरले बङ्गलादेश टिमकाे अपिललाई स्वीकार गर्दै म्याथ्युजलाई आउट दिए ।