राष्ट्रपति पौडेल भूकम्प प्रभावित जाजरकोटमा

राष्ट्रपति पौडेल भूकम्प प्रभावित जाजरकोटमा

‘चिन्ता गर्नु पर्दैन, म सरकारसँग कुरा गर्छु’



जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट आइपुगेका छन् । मंगलबार जाजरकोट आइपुगेका राष्ट्रपति पौडेल घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन जाजरकोट अस्पताल पुगेका छन् । 

घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूसँग जानकारी लिएका राष्ट्रपपति पौडेलले घाइतेहरुको उपचारसहित पीडितलाई गाँसबासको व्यवस्था गर्न सरकारसँग आफूले कुरा गर्ने बताएका छन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन आग्रह गरेपछि राष्ट्रपति पौडेलले यसबारे सरकारसँग आफूले कुरा गर्ने जवाफ दिएका हुन् । 

राष्ट्रपतिले भने, ‘तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु ।’

राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठवीसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिँदैछन् । 

राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मा सहभागी छन् । 

सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराए । 

गत शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्प र त्यसपछि आइरहेको पराकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो धनजनको क्षति भएको छ ।