पोखरा । चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रका लागि झण्डै ४० करोडको राहत सामाग्री नेपाल सरकारलाई बुझएको छ । बुधबार चिनियाँ सेनाको दुई वटा विमानबाट राहत सामग्री पोखरा ल्याइएको हो ।
चीनले ३० करोड मूल्य बराबरको सामग्री पोखरा र १० करोड बराबरको सामग्री केरुङ नाका हुँदै ल्याएको हो । राहत सामग्री जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितलाई वितरण गरिने बताइएको छ ।
सो सामग्री चिनियाँ राजदूत छन् सङबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका छन् । सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरे ।
“नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुवै मुलुक एकअर्काको दुःखमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको छ,” उपप्रधानमन्त्री श्रेष्ठले भने ।
त्यसक्रममा राजदूत सङले पश्चिम नेपालको भुकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गरे । नेपाल र नेपाली जनताको दु:खमा आफ्नो देशको सधैं साथ सहयोग रहने र राष्ट्रपति सि चिनफिङले समेत पत्र पठाएर त्यो संवेदना जाहेर गरेको बताए ।
दुईवटा एयरक्राफ्टबाट चार हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ । यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सयवटा महामारी रोक्ने स्पेयर र साढे १० हजारवटा लामखुट्टे मार्ने औषधि छन् ।
आज बिहान काठमाडौं आइपुगेको उक्त सामाग्री तत्काल प्रभावित क्षेत्रमा पठाइने छ भने पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा पठाउने तयारी छ ।


प्रतिक्रिया