टिकटकविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा

टिकटकविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा



काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा परेका छन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका थिए । तर, न्यायाधीश चुडाल, नहकुल सुवेदीसहितको संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि सबै मुद्दा हेर्न नभ्याउने सूचीमा परेका हुन् ।

टिकटकमाथिको प्रतिबन्धविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका छन् ।

गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्चमा १० रिट दर्ता भएका थिए ।

त्यसैगरी, टिकटक प्रतिबन्धविरूद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

सोमबार हन्ड्रेड ग्रुप्स र दलितका लागि दलित नामक संस्थाले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘टिकटक प्रतिबन्ध खारेज गर’, ‘सरकार हिजो बन्दुकसँग डराउने आज टिकटकसँग’, ‘टिकटक हैन जाजरकोटलाई ध्यान दे’लगायतका नारासहित माइतीघरदेखि बानेश्वरसम्‍म प्रदर्शन गरेका छन् ।