विश्वकप फाइनलमा भारत पराजित भएपछि हृदयाघातका कारण समर्थकको मृत्यु

विश्वकप फाइनलमा भारत पराजित भएपछि हृदयाघातका कारण समर्थकको मृत्यु



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतीय टोली अस्ट्रेलियासँग पराजित भएपछि एक भारतीय समर्थकको हृदयाघातका कारण निधन भएको छ ।

अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति खेलिएको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले कीर्तिमानी रूपमा छैटौँपटक एकदिवसीय विश्वकपको उपाधि चुमेको थियो ।

यसपटक घरेलु मैदानमा भारतले एकदिवसीय विश्वकपको उपाधि जित्नेमा भारतीय समर्थकहरू बढी नै आशावादी थिए ।

फाइनलमा अप्रत्याशित रूपमा अस्ट्रेलियाले आफ्नो टोलीलाई हराएपछि हृदयाघातका कारण आन्ध्र प्रदेशको तिरुपति जिल्लामा एक समर्थकको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार, ३२ वर्षीय ज्योतिस कुमार यादवको हृदयाघातका कारण निधन भएको हो ।

पेसाले कम्प्युटर इन्जिनियर रहेका उनले सुरुदेखि आफ्नो घरमा बसेर विश्वकपको फाइनल खेल हेरिरहेका थिए । खेलमा भारतीय टोली पराजित भएपछि उनले असहज महसुस गरेका थिए । हारसँगै भारतीय टोलीका कप्तान रोहित शर्माले आँसु खसालेको देखेपछि यादवलाई हृदयाघात भएको बताइएको छ ।

यादवको परिवारका सदस्यले बताएअनुसार, टेलिभिजनमा रोहित शर्मा रोएको देखेपछि उनलाई हृदयाघात भएको थियो । उनलाई तत्कालै तिरुपतिस्थित अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकहरूले अस्पताल पुर्‍याइनुअघि नै उनको मृत्यु भइसकेको जानकारी गराएका थिए ।