बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच झडप

बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच झडप



काठमाडौं । काठमाडौंको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ ।

बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।

त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् ।

यसअघि सोही स्थानमा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडप भएको थियो ।