पाथीभरामा दसैँतिहारमा पुगे ६१ हजार बढी दर्शनार्थी

पाथीभरामा दसैँतिहारमा पुगे ६१ हजार बढी दर्शनार्थी



ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँतिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि ५ मंसिरसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् ।

वर्षभर नै पाथीभराको दर्शनका लागि तीर्थयात्री आउने गरे पनि दसैँतिहारको समयमा तुलनात्मक रुपमा धेरै दर्शनार्थी पुगेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताए । नवरात्रका समयमा देवीको पूजाआरधना गर्न उपयुक्त मानिने र चाडवाड, बिदालगायतका कारणले पनि उक्त समयमा धेरै दर्शनार्थी आएका उनको भनाइ थियो ।

दर्शनार्थीको गणनाका लागि अहिले गणना गर्ने प्रविधिसहितको सिसी क्यामेरा जडान गरिएकाले उक्त संख्यामा दर्शनार्थी आएका देखिएको निर्देशक हाङवाङले बताए । यस वर्ष दसैँतिहारमा मौसम सफा रहेकाले स्वदेशी तथा विदेशी तीर्थयात्रीको आगमन बढेको उनले जानकारी दिए ।

समितिका निर्देशक हाङवाङका अनुसार पाथीभरा मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । पाथीभरामा भारतको सिक्किम, आसामलगायतका ठाउँबाट समेत तीर्थयात्री आउने गरेका छन् । पाथीभरा पुग्न ताप्लेजुङ सदरमुकाम हुँदै सवारी साधनमा काफ्लेपाटीसम्म र सो भन्दामाथि पैदल हिँड्नुपर्छ ।

करिब ४ घण्टाको उकालो चढेपछि पुगिने मन्दिर ३ हजार ७ सय ९४ मिटरको उचाइमा पर्दछ । दर्शनार्थीको चापलाई मध्यनजर गर्दै मन्दिर दर्शनका लागि जनशक्ति खटाएर आवश्यक व्यवस्थापन गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए ।