भीमबहादुरहरु झन् झन् खड्किँदै !

भीमबहादुरहरु झन् झन् खड्किँदै !



नेपालको लोकतान्त्रिक आन्दोलनले जन्माएका सीमित व्यक्तिहरुमध्येका एक नेपाली कांग्रेसका नेता भीमबहादुर तामाङ साँच्चै सादा जीवन र उच्च विचारका थिए । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले उपलब्ध गराएको सेल्टरमा बिहानै उपस्थित हुने साथीहरुलाई आफै कालो चिया बनाएर खुवाउने स्वर्गीय तामाङलाई नेपाली समाजले सम्झिरहेको हुन्छ । देशमा आउने उत्तरचढावको समयमा उहाँसँग असहमति राख्ने दलहरुले पनि उहाँको सरल, सामान्य र निष्ठापूर्ण व्यक्तित्वलाई स्मरण गर्ने गरेको छ । पार्टीका दस्तावेजहरुमा तामाङको विचार र व्यक्तिगत जीवन अभिलेखित छ । हामीजस्ता तामाङको पाठशालामा शिक्षा लिएका व्यक्तिहरुको लागि त वैचारिक खुराक नै लाग्छन् ।

त्यस्तो जीवन जिउन सक्नु चुनौतिपूर्ण लाग्छ । मानिसले वैचारिक दृष्टिकोण बनाउँदा इमान्दारितापूर्वक प्रस्तुत हुन सक्नुपर्छ भन्ने मान्यताले आजको परिवेश चियाउँदा कहाली नै लाग्छ । हाम्रो चार पुस्तासँगको तामाङको सामिप्यता र सम्बन्धले कहिन कही बाँधिरहेको छ । हजुरबुवा, बुवाको पुस्तालाई आधुनिक शिक्षा दीक्षा दिने तामाङसँग हाम्रो पुस्ताले प्रचुर राजनीतिक वैचारिक ज्ञान प्राप्त गरेको छ । हामीपछिको पुस्ताका लागि तामाङ अपत्यारिला वास्तविक लाग्न थालेका छन् । के साच्चै भीमबहादुर यति धेरै सरल, इमान्दार, बौद्धिक र निष्ठान थिए ? यस्तो जीवन कति सम्बन्ध ? के का निम्ति यत्रो ठूलो त्याग, तपस्या र बलियदान गरेका हुनु– तामाङले ? तामाङहरु जस्ताले गरेको त्याग र देखाएको बाटोमा नै छ– नेपाली राजनीति ? नेपाली कांग्रेसले त्यो विचार, आदर्श, सिद्धान्त र आन्दोलनको अगुवाइ गरिरहेकै छ ? स्वर्गीय भीमबहादुर तामाङ देखाउने दाँत मात्र थिएकी पार्टीमा निर्णायक पनि भए ?

यस्ता अनगिन्ती प्रश्नहरु आज अनुत्तिरित भएर रहेका छन् । देशको अवस्थामा आउने नसकेको फेरबदलले त्याग र निष्ठा भन्ने शब्दको अर्थलाई व्यङ्ग्य गरिरहेजस्तो लाग्छ । एउटा सामान्य मानिस प्रणालीलाई चुनौति दिइरहेको छ । तर कांग्रेसलगायतका दल र यसका नेतृत्व मौन छ, डराएको छ । हामी हाम्रो गन्तव्यप्रति सजग छौं, इमान्दार छौं, प्रतिबद्ध छौं भन्ने साहस देखाउन सक्दैन । यसबीचमा भए गरेका कार्यहरुको बोझले थलिएको व्यथित अवस्थामा दलहरु र मुख्य नेतृत्व रहेको छ । जुन कुराको परिकल्पना भीमबहादुर तामाङजस्ता व्यक्तित्वहरुको थिएन । नेपाल राष्ट्र र नेपाली जनताको जीवनमा नै परिवर्तन ल्याउने अठोट, संकल्प र चिन्तन अन्तिम अवस्थामा समेत प्रतिविम्बित हुन्थ्यो, तामाङको अभिव्यक्ति र प्रस्तुतिमा ।

२०६९ साल मंसिर १६ गते बिहान स्वर्गीय तामाङले समसामयिक विषयमा छलफल गर्ने पूर्व निर्धारित कार्यक्रम बनाउनु भएको थियो । मलाई पनि बोलाउनु भएकोले चिसो बिहानी छिचोल्दै बालाजुदेखि बानेश्वर आएको थिएँ । तामाङको कोठा अस्तव्यस्त थियो । त्यो देख्ने वित्तिकै शंका लाग्यो । केही चाहिँ भएकै छ भन्ने भयो । त्यस्तो डिसअडर’ तामाङको घर कोठामा मैले कहिल्यै देखेको थिएन । एक्कासि राधेश्याम दाइको भाउजुले भीमबहादुर दाई विरामी भएर नर्भिक लगेको जानकारी गराउनु भयो । हतार हतार नर्भिक पुग्दा राधेश्याम दाइ अध्यारो अनुहारमा आकस्मिक कक्षबाट बाहिर निस्कदै हुनुहुन्थ्यो । मलाई देख्नासाथ नजिकै बोलाएर ‘भीमबहादुरजीलाई बचाउन सकिएन’ भन्नुभयो । मैले एक्कासी अध्यारो भएको महसुस गरें, मित्र छिरेर उहाँको छोपिएको अनुहार हेरें, विश्वास लागेन । तीन पटक छोप्दै उठाउँदै हेरें । विक्षिप्त भएँ, पत्याउन बाध्य भएँ । गेटमा उहाँका दुई भतिजाहरु युवराज र राम रोइरहेका थिए । अरु कोही थिएनन । के गर्ने ? भन्ने सोचे । पहिला आफ्नै बुवालाई घटना सुनाएँ, पत्याउनु भएन, हो भने । अनि पार्टीका अन्य मानिसलाई घटना सुनाएँ । केही पत्रकार मित्रहरु जो भीमबहादुर दाईलाई धेरै आदर गर्नुहुन्थ्यो, उहाँहरुलाई जानकारी दिएँ । अब के गर्ने भन्ने सवाल आयो, घर परिवारका सदस्यसँग सम्पर्क गर्दा दोलखाको झुलेमा नै लैजाने खालको धारणा आयो । पार्टीको कार्यक्रम के हुन्छ, त्यसपछि सोचौंला भने । एकछिन पछि पार्टी सभापति सुशील कोइरालालगायतका नेता कार्यकर्ता घुइँचो नै लाग्यो ।

सभापति कोइरालाले तपाईंहरुके गर्नुहुन्छ भन्ने प्रश्न गर्नुभयो, मैले प्रतिप्रश्न गरें, पार्टीले के गर्छ, त्यसपछि हामी हाम्रो निर्णय गछौं भने । त्यतिबेलासम्म ठूलो भीड लागिसकेको थियो । तामाङका समर्थक अनुयायी र शुभेच्छुकहरुको ब्यापक उपस्थिति पश्चात पार्टीले कार्यक्रम बनाएर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राख्ने र काठमाडौंमा नै दाहसंस्कार गर्ने निष्कर्षमा पुग्यौं । तामाङ संस्कारअनुसार लामा पढाउने पूँजापाठ गर्नेलगायतका कर्महरु भए । सहयोगी मनहरुले भव्य सहयोग मात्र गरेन, उच्च सम्मान र आदरका साथ काठमाडौंको स्वयंभुमा तामाङको पार्थिव शरीरको अन्त्यष्टि गरियो ।

यसरी स्वर्गीय भीमबहादुर दाइसँगको प्रत्यक्ष सम्बन्धको अन्त्य भएको थियो । हामी परिवारिक सम्बन्धमा थियौं । राजनीतिक विचारलाई विजारोपण गर्ने थलो उहाँले हाम्रै घर परिवारलाई बनाउनु भएको थियो– दोलखामा । त्यसपछि मात्र अन्यत्र विस्तार भएको थियो । कहिल्यै सम्बन्धमा ठूलो उत्तरचढाव आएन । २०४६ सालको परिवर्तनपश्चात सामान्य फेरबदल आउनु अस्वभाविक होइन । कठिन दिनमा सीमित मानिसमात्र संगठित थिए । खुला समाज भएपछि विभिन्न विचार, धारणा, दृष्टिकोण, पहिचान आदि इत्यादि आउनु स्वभाविक नै हो । २०३७ सालमा भएको जनमतसंग्रहमा बहुदलवादीहरुको मुख्य कार्यालय हाम्रै घरमा थियो । दोलखा जिल्लाको सम्पूर्ण कार्यक्रम त्यहीबाट सञ्चालित हुन्थ्यो । हरेक ठाउँमा त्यहीबाट दलबलसहितको उपस्थित हुन्थ्यो । उक्त निर्वाचनमा दोलखाबाट आएको मतमा जफे, गैरीमुडी र पवटीले मात्र बहुमत दिएको मत परिणामबाट देखिन्छ । स्वर्गीय भीमबहादुर दाइले जफेलाई नै बेस बनाउनु भएको थियो, त्यसैले परिणाममा पनि उहाँको आफ्नै पालिका झुलेमा भन्दा जफेमा राम्रो प्रभाव देखिएको हो ।

त्यस्तो आत्मियता र हार्दिकताबाट माथि उठेको सम्बन्ध र त्यही सम्बन्धका आधारमा बनेको संगठनमा आज कस्ता कस्ता मानिसले हालिमुहाली गरेका छन् ? जगजाहेर नै छ । तलदेखि माथिसम्म त्यस्तै अवस्था छ । भीम दाइले प्रहार गरेको प्रवृत्ति आज निर्णायक छ । सत्ता, शक्ति र बलको प्रयोगले विचार, सिद्धान्त र आदर्श मर्माहत भएको छ । दलाल, तस्कर, माफिया र डनको कब्जामा दलहरु र यसको नेतृत्व कैद छ । जेलनेल संघर्ष र त्याग गरेका व्यक्तिहरु बिकाउ भएका छन् । उनीहरुलाई खरिद गरेर विचौलियाहरुले हर क्षेत्रको व्यवस्थापन गरेका छन् । प्रत्येक नियुक्तिमा विचौलिया निर्णायक देखिन्छन् । यहाँको नियुक्ति विदेशमा निश्चित भएका समाचार आउँछन् । छोराछोरी आफन्त विदेशमा भएकाले लेनदेन कारोबार उतै गरेर सबै मिलाएर यहाँ औपचारिकता पूरा गरेको समाचार आउँदा त्यसको खण्डन सरोकारवालाले गरेका छैनन् । स्वर्गी तामाङले ‘द न्यू क्लास’ पढ्न सुजाउनु भएको थियो । परिवर्तनले त समाजमा ‘नयाँ वर्ग’ जन्माएको तामाङको दृष्टिकोण आज अझ बढी सान्दर्भिक भएको छ । हस्तक्षेप गर्न सक्ने नेतृत्वको अभावमा स्वर्गीय तामाङ अझ बढी खड्किनु भएको छ । मेरो पथप्रदर्शक र अभिभावकप्रति भावपूर्ण श्रद्धाञ्जली !