सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल



काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् ।

न्याय परिषदले सोमबार पौडेललाई मुख्य रजिस्ट्रार सिफारिस गरेको न्यायपरिषद्का सहसचिव एवम् प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए ।

यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आइतबारदेखि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका थिए । न्याय परिषद्ले उनको ठाउँमा पौडेललाई सिफारिस गरेको हो । पौडेल अहिले सर्वोच्चमा रजिस्ट्रार छन् ।

न्याय परिषदले मानबहादुर कार्कीलाई रजिस्ट्रार सिफारिस गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

अब मन्त्रिपरिषद्‌बाट निर्णय भएपछि उनीहरूको नियुक्ति हुनेछ ।

पौडेलले सर्वोच्चको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । मुद्दा शाखाको प्रमुख भएर काम गरेका पौडेल गत पुसमा रजिस्ट्रार नियुक्त भएका थिए । उनले सर्वोच्चको योजना तथा अनुसन्धान, प्रशासनसहित महत्त्वपूर्ण महाशाखाको नेतृत्व गरिसकेका छन् ।

पौडेलले छात्रवृत्तिमा बेलायतबाट स्नातकोत्तर र अमेरिकाको हम्फ्रे छात्रवृत्तिअन्तर्गत युनिभर्सिटी अफ मिनिसोटाबाट थप डिग्री हासिल गरेका छन् ।