लिम्चुङबुङलाई समृद्ध बनाउने अभियानमा अध्यक्ष राई

लिम्चुङबुङलाई समृद्ध बनाउने अभियानमा अध्यक्ष राई



काठमाडौं । उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले ‘एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउने लिम्चुङबुङको सपना’ अभियान अगाडि सारेका छन् । अध्यक्ष राईले आउँदाे सोमबार सो अभियानको सामूहिक प्रतिबद्वतासहित घोषणा गरिने बताएका छन् ।

पालिकामा पक्की सडक निर्माण गर्ने र सुनकोशीमा पक्की पुल निर्माण गर्ने अभियानको पहिलो उद्देश्य रहेको अध्यक्ष राईले बताएका छन् । हरेक क्षेत्रको विकासका लागि सबैभन्दा पहिले सडकको आवश्यक्ता हुने हुनाले अभियानको पहिलो काम पालिकामा पक्की सडक निर्माण र सुनकोशीमा पक्की पुल निर्माणलाई राखिएको उनले बताए ।

कृषि उत्पादन बृद्धि गर्ने पालिकाको दोस्रो उद्देश्य रहेको उनले बताए । कृषि क्षेत्रको अवस्था पेट्रोल बिनाको गाडी जस्तो भएको भन्दै उनले अब कषि क्षेत्रको सुधारमा पालिकाले निरवाहमूखी कृषिबाट व्यवसायिक कृषिमा रुपान्तरण गर्न विशेष महत्व दिने बताए । कृषिको विकासले गाउँमा रोजगारीको सृजना हुने हुँदा गाउँबाट युवा बाहिरिने क्रम घट्दै जाने उनले बताए । पालिकामा आधारभूत विकास लगभग भएको भन्दै अब गाउँमै रोजगारीको अवसर सृजना गर्नेमा लिम्चुङबुङ गाउँपालकाले जोड दिने उनले बताए ।

त्यसैगरी शिक्षा र स्वास्थ्यमा सुधार गर्ने एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउने लिम्चुङबुङको सपना भन्ने अभियानको तेस्रो उदेश्य रहेको अध्यक्ष राईले बताए । गाउँमा शिक्षा र स्वास्थ्यको अवस्था राम्रो नभएकोले मान्छे गाउँमा नबसेको भन्दै अध्यक्ष राईले यसमा सुधार गरिने बताए ।

पर्यटन विकासमा प्रचारप्रसार गर्ने अभियानको चौंथो उद्देश्य रहेको छ । पर्यटनको विकासले अरु सबै क्षेत्रको विकासमा टेवा पुग्ने हुनाले पर्यटन क्षेत्रमा पालिकाले लगानी गर्ने उनले बताए । पालिकाको हावापानी, सगरमाथा हिमाल, स्थानीय रितिरिवाज, हलेसी मन्दिर, सुनकोशी नदीजस्ता प्राकृतिक स्रोतसाधनको प्रचारप्रसारबाट पर्यटनको विकास हुने उनको ठहर छ । यसरी पालिकालाई पर्यटनको गन्तब्य बनाएर संसारभर चिनाउने उनको अभियान छ ।

सम्भावानाले भरिएको गाउँलाई दुर्गम भनेर पछाडि पारिएकोप्रति असन्तुष्टि जनाउँदै अब सबै एक भएर एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउने उनले बताएका छन् ।

अध्यक्ष राईले घोषणा सभामा उदयपुरका सबै पालिकाका जनप्रतिनिधिलाई आमन्त्रण गरेका छन् ।