युरोकप फुटबल २०२० को उपाधी इटालीलाई

युरोकप फुटबल २०२० को उपाधी इटालीलाई



लन्डन । युरोकप फुटबल २०२० को उपाधी इटालीले उचालेको छ । ५३ वर्षपछि इटालीले इङ्ल्याण्डकै घरेलु मैदानमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।

अतिरिक्त समयसम्म पनि खेल १-१ गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा इङ्ल्याण्डले आफ्नो अन्तिम तीनवटा पेनाल्टी गोल गर्नबाट चुकेपछि घरेलुमैदानमै इङ्ल्याण्डले पराजय भोगेको हो ।

लण्डनस्थित वेम्ब्ली मैदानमा आज बिहान सम्पन्न फाइनल खेलमा इङ्ल्याण्डले खेलको दोस्रो मिनेटमै कर्नर किकमार्फत आएको बललाई लुके स ले गोल गर्दै अग्रता दिलाएका थिए । उनको यो गोल युरोकप फाइनलको इतिहासकै सबैभन्दा छिटो गरिएको गोल रह्‍यो ।

पहिलो हाफसम्मको खेलमा ६५ वल पोजिसन आफ्नो पक्षमा राख्न इटालीले गोल गर्न भने सकेन । दोस्रो हाफको ६७औं मिनेटमा लियोनार्दोले गोल गर्दै इटालीलाई खेलमा फर्काएका थिए । निर्धारित ९० मिनेटको खेलसँगै अतिरिक्त समयसम्म पनि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

पेनाल्टी सुटआउटमा इङ्ल्याण्डले आफ्नो तीन पेनाल्टी लगातार मिस गर्दा इटालीले आफ्नो दोस्रो युरोपियन उपाधी उचालेको हो । सन् १९६८ मा आफ्नो पहिलो उपाधी जितेको इटालीले ५३ वर्षपछि युरोपियन महादेशीय उपाधी जितेको हो ।

घरेलु मैदानमा घरेलु समर्थकमाझ इङ्ल्याण्ड पराजित हुँदा उपाधी होम नभई रोम गएको छ । युरोकप फाइनलको इतिहासमा पेनाल्टी सुटआउटबाट खेलको छिनोफानो भएको यो दोस्रो खेल हो । यसअघि १९७६ को युरोकप फाइनलमा पेनाल्टीमार्फत चेकस्लोभाकियाले जर्मनीलाई पराजित गरेको थियो ।

यसैबीच पोर्चुगलका स्टाइकर क्रिष्टियानो रोनाल्डोले २०२० युरोकपको गोल्डेनबुटको उपाधी जितेका छन् । उनले खेल अवधिभर व्यक्तिगत पाँच गोल गरेवापत यो उपाधी जितेका हुन् । त्यस्तै इटालीका गोलरक्षक जियान लुइजी डोनारूम्मा युरोकप २०२० का सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।